ओलीको अपिल : हिंसा रोकौं, संवादबाट समाधान खोजौं


२०८३ श्रावण १४ बिहीबार १७:५८ बजे

काठमाडौं :  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज र त्यसपछि सिरहालगायतका क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै संयमता अपनाउन र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन् ।

बिहीबार जारी अपिलमार्फत ओलीले सुनसरीमा राज्य पक्षबाट भएको बल प्रयोगका क्रममा स्थानीय युवा ओमप्रकाश मेहताको तथा सिरहामा गोली लागेर गणेश यादवको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले अन्य नागरिक घाइते भएको घटनाप्रति पनि पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

ओलीले हिंसात्मक घटना रोक्नुको सट्टा थप उग्र बन्दै सिरहालगायतका क्षेत्रमा समेत गोली चल्दा थप नागरिकको ज्यान गएको खबरले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नागरिकहरूबीचको एकता र भ्रातृत्व नै राष्ट्रको बल हो। समाजमा विभाजन ल्याउने उद्देश्यले हुने भ्रामक प्रचारप्रति सचेत रहन सबैलाई आग्रह गर्दछु।’

एमाले अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्ता, अन्य राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा आम नागरिकलाई संयमता अपनाउँदै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।

सरकारको भूमिकामाथि प्रश्न उठाउँदै ओलीले नागरिकको जीउधनको सुरक्षा गर्नु र संवादमार्फत समस्या समाधान गर्नु सरकारको प्राथमिक दायित्व भए पनि संवेदनशील अवस्थामा सरकारले उदासीनता, अत्यधिक बल प्रयोग र मौनता देखाएको आरोप लगाए ।

उनले हिंसात्मक गतिविधि तत्काल रोक्न र अविलम्ब संवादमार्फत समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् । ओलीले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै प्रमुख राजनीतिक दलहरूलाई आपसी आरोप–प्रत्यारोप र राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्न आग्रह गरेका छन् ।

उनले द्वन्द्व र हिंसाबाट समस्याको समाधान नहुने उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार राजनीतिक सहकार्यबाट मात्रै मुलुकलाई वर्तमान संकटबाट निकास दिन सकिने बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७