१ लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन पक्राउ


२०८३ श्रावण १३ बुधबार ०८:२३ बजे

काठमाडौं :  सशस्त्र प्रहरी बलले काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी र ओखलढुंगाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्दै आएका २४ वर्षीय दिपक राई रहेका छन्।

सशस्त्र प्रहरीका अनुसार भारतबाट लागुऔषध नेपाल भित्र्याएर बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूको साथबाट ‘डामाडोल’ नामक लागुऔषधका १ लाख २० हजार क्याप्सुल, टाटा कम्पनीको बीएसी ७०१७ नम्बरको हात्ती गाडी, बागमती प्रदेश ०२–०६५ प ४४८९ नम्बरको मोटरसाइकल, तीन थान मोबाइल फोन तथा नगद नेपाली रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेका तीनै जनालाई बरामद सामानसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७