सर्वदलीय बैठकपछि शीतल निवासमा रवि

राष्ट्रपतिलाई सुनसरी घटनाबारे गराए जानकारी


२०८३ श्रावण १३ बुधबार १३:१५ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग समसामयिक राजनीतिक अवस्था तथा सुनसरी घटनाबारे छलफल गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार भेटका क्रममा लामिछानेले सुनसरी घटनापछि बुधबार बिहान सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा भएको छलफल, त्यसबाट जारी गरिएको सात बुँदे संयुक्त अपिल तथा शान्ति–सुरक्षा कायम गर्न राजनीतिक दलहरूले व्यक्त गरेको साझा प्रतिबद्धताबारे राष्ट्रपतिलाई जानकारी गराएका छन्।

सुनसरीमा विकसित घटनाक्रम, त्यसले निम्त्याएको सामाजिक तथा सुरक्षा चुनौती र परिस्थितिलाई सामान्य बनाउन आवश्यक पहलका विषयमा पनि भेटमा कुराकानी भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।

सर्वदलीय बैठक सम्पन्न भएपछि लामिछाने सीधै शीतल निवास पुगेका थिए। बैठकमा विभिन्न नौ राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका थिए। बैठकले सामाजिक सद्भाव कायम राख्न, उत्तेजना र अवाञ्छित गतिविधिबाट टाढा रहन, संवादमार्फत समस्या समाधान गर्न तथा सरकारले निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने मागसहित सात बुँदे संयुक्त अपिल जारी गरेको थियो।

भेटका क्रममा लामिछानेले पछिल्लो राजनीतिक अवस्था, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूबीच भइरहेको समन्वयबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७