प्रदेश मन्त्रालय बाँडफाँटमा सिट संख्या आधार बनाउन ओली-प्रचण्डको निर्देशन
काठमाडौं : नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँटसम्बन्धी तीनबुँदे सहमति कार्यान्वयन गर्न पाँचबुँदे निर्देशन जारी गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रूपमा प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँटको आधार र प्रक्रियाबारे निर्देशन जारी गरेका हुन्।
निर्देशनअनुसार प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेशसभामा रहेका दलहरूको सिट संख्यालाई मुख्य आधार मानिनेछ। मन्त्रालय बाँडफाँट गर्दा पनि प्रदेशसभामा दलहरूको सदस्य संख्याको अनुपातलाई आधार बनाइनेछ। मुख्यमन्त्री र सभामुखको जिम्मेवारीलाई समेत समग्र राजनीतिक शक्ति सन्तुलनमा गणना गरिने सहमति भएको छ।
दुई दलबीच मन्त्रालय बाँडफाँट गर्दा पालैपालो प्राथमिकता दिने व्यवस्था गरिएको छ। जसअनुसार पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनोट गर्नेछ भने दोस्रो मन्त्रालय मुख्यमन्त्री रहने दलले छनोट गर्नेछ।
त्यसपछि यही क्रम पालैपालो दोहोर्याउँदै सबै मन्त्रालय बाँडफाँट गरिनेछ। दुई दलको सहकार्यबाट सरकार गठनका लागि आवश्यक संख्या नपुग्ने प्रदेशमा तेस्रो दललाई सहभागी गराउँदा आपसी समझदारीमा मन्त्रालय बाँडफाँट गरिनेछ। त्यसपछि बाँकी मन्त्रालयका हकमा पनि पालैपालो छनोट गर्ने यही प्रक्रियालाई आधार बनाइनेछ।
एमाले र नेकपाले प्रदेशमा राजनीतिक स्थिरता, सुशासन, समृद्धि तथा प्रादेशिक विकासको गतिलाई तीव्र बनाउन प्रदेश सरकारका लागि न्यूनतम साझा प्रतिबद्धता निर्माण गरी सार्वजनिक गर्ने भएका छन्।
संघीयताको प्रवर्द्धनलाई समेत प्राथमिकता दिँदै प्रदेश सरकारले त्यही न्यूनतम साझा प्रतिबद्धताका आधारमा कार्यसम्पादन गर्ने निर्देशनमा उल्लेख छ।
दुवै दलले आपसी समझदारीलाई थप सुदृढ गर्दै सहकार्यलाई दिगो बनाउने उद्देश्यले सरकार गठन, मन्त्रालय बाँडफाँटलगायतका काम अघि बढाउने बताएका छन्।
.gif)

.png)

