बैतडी पुगेका पूर्वाधार मन्त्री लम्साल अस्वस्थ, सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइँदै


२०८३ श्रावण ३१ आइतबार १८:४४ बजे

बैतडी : पूर्वाधार विकास मन्त्री सुनिल लम्साल अस्वस्थ भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदैछ । आइतबार साँझ करिब सवा ६ बजे उनलाई बैतडीको दशरथचन्द नगरपालिका–४, गोठलापानीबाट थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी भोजलाल थारूका अनुसार मन्त्री लम्साललाई सेनाको हेलिकप्टरबाट सुरुमा कैलालीको धनगढी ल्याइनेछ । धनगढीबाट अर्को उडानमार्फत उनलाई काठमाडौं ल्याउने तयारी गरिएको उनले जानकारी दिए ।

पछिल्ला केही दिनदेखि मन्त्री लम्साल सुदूरपश्चिमका विभिन्न क्षेत्रको भ्रमणमा थिए । सोही क्रममा उनी शनिबार राति बैतडीको गोठलापानीमा पुगेका थिए । गोठलापानीमा बसिरहेका बेला उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

सूचना अधिकारी थारूका अनुसार शनिबार रातिदेखि नै मन्त्री लम्साललाई ज्वरो आउने, घाँटी दुख्ने तथा हातखुट्टा दुख्ने समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई स्थानीय चिकित्सकमार्फत उपचार गराइएको थियो ।

स्थानीय उपचारपछि पनि थप स्वास्थ्य परीक्षण तथा उपचार आवश्यक देखिएपछि उनलाई काठमाडौं ल्याउने निर्णय गरिएको हो । थप उपचारका लागि चिकित्सकीय सुविधासहितको अस्पतालमा लैजान सेनाको हेलिकप्टर प्रयोग गरिएको प्रशासनले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७