बागमतीको मुख्यमन्त्रीमा किरण थापाको दाबी, एमाले–नेकपा–राप्रपाको संयुक्त सरकार बन्दै
राप्रपाको समर्थनपछि बागमतीमा थापाको मुख्यमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं : नेकपा (एमाले) का किरण थापा मगरले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। बुधबार थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को समर्थनसहित प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
एमाले–नेकपा गठबन्धनबीचको भागबण्डाअनुसार बागमतीको मुख्यमन्त्री एमालेको भागमा परेको थियो। एमालेले मंगलबार थापालाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो। १०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ सांसद आवश्यक पर्छ । एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थनसहित थापाले बहुमतको दाबी पेश गरेका हुन्।
यसअघि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए। दाबी पेश गर्ने समय भदौ ४ गते अपराह्न ४ बजेसम्म तोकिएको छ। राप्रपाको समर्थनसँगै एमाले–नेकपा गठबन्धनलाई आवश्यक बहुमत पुगेको छ। अब प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछन्। उनलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ।
.gif)

.png)

