सकियो एमालेको बैठक : विद्यादेवी भण्डारी वरिष्ठ नेता चयन
काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक बिहीबार सम्पन्न भएको छ।
बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको छ। बिहीबार बसेको पार्टी सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउनेसहित केन्द्रीय सदस्यमा मनोनयन हुने नेताहरूको सूची पारित गरेको थियो।
सचिवालयको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको हो।
पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई पार्टी सदस्यता दिने वा नदिने विषयमा लामो समयदेखि एमालेभित्र बहस हुँदै आएको थियो। पछिल्लो निर्णयसँगै उनलाई पार्टीमा पुनः सक्रिय भूमिकासहित वरिष्ठ नेताको जिम्मेवारी दिइएको हो।
पूर्व राष्ट्रपति भण्डारी अब वरिष्ठ नेताको भूमिकामा रहने र उनको राजनीतिक तथा सांगठनिक अनुभवले पार्टीको आगामी कार्यभारलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने एमाले सचिव हिक्मत कार्कीले विश्वास व्यक्त गरे।
यसैगरी बैठकपछि प्रतिक्रिया दिँदै सचिव पद्मा अर्यालले भण्डारीजस्तो अनुभवी र सम्मानित नेतालाई सदस्यता दिएर मात्र राख्नु उपयुक्त नहुने भएकाले वरिष्ठ नेताको जिम्मेवारी दिइएको बताइन्।
केन्द्रीय कमिटी बैठक सौहार्दपूर्ण रूपमा सम्पन्न भएको अर्का सचिव महेश बस्नेतले बताए। उनले पार्टीलाई एकताबद्ध र उत्साहित बनाउने गरी बैठक सम्पन्न भएको दाबी गरे।
गत असोज ५ गतेदेखि जारी एमालेको केन्द्रीय कमिटी बैठक बिहीबार सम्पन्न भएको हो। बुधबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित गरेको थियो।
.gif)

.png)


