टेम्केमैयुङमा १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण

दुई जनामा शङ्कास्पद लक्षण


२०८३ भदौ २१ आइतबार ०७:५५ बजे
फाइल फोटो

भोजपुर : महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान तथा रोकथाम गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना अभियान सञ्चालन गरिएको छ।

‘मातृत्व जोगाउने अभियान’ अन्तर्गत सञ्चालित दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिकाका १३७ महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको हो। दुर्गम क्षेत्रका महिलालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै क्यान्सरको प्रारम्भिक अवस्था पहिचान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको ‘कल्प इम्पावर वुमन नेपाल’की अध्यक्ष पूजा कोइरालाले बताइन्। 

उनका अनुसार स्तन तथा पाठेघरको मुखको क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी हुने भएकाले अभियानलाई प्राथमिकता दिइएको हो। संस्थाले महिला स्वास्थ्य तथा नेतृत्व क्षमता विकासका क्षेत्रमा काम गर्दै आएको कोइरालाले जानकारी दिइन्। उनका अनुसार संस्थाले हालसम्म करिब २५ हजार महिलालाई स्वास्थ्य सेवा प्रदान गरिसकेको छ। चालु वर्ष थप १० हजार महिलासम्म सेवा पुर्‍याउने लक्ष्यसहित ‘मातृत्व जोगाउने अभियान’ सञ्चालन भइरहेको उनले बताइन्।

गाउँपालिकाका महिलाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै क्यान्सरको खोजी, पहिचान र रोकथामका लागि शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए। यस्ता कार्यक्रमले महिलालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै रोगको समयमै पहिचान र उपचारमा सहयोग पुग्ने उनको भनाइ छ।

शिविरका क्रममा दुई महिलामा पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित प्रारम्भिक शङ्कास्पद लक्षण फेला परेको विराट मेडिकल कलेज टिचिङ अस्पतालकी डा. रेखा साहले जानकारी दिइन्। स्वास्थ्य परीक्षणसँगै महिलालाई स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जानकारी दिने उद्देश्यले ‘सी क्यान’ अर्थात् ‘उनी सक्छिन्’ अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।

यस्तै, किशोरीलाई समुदाय तथा सामाजिक विषयवस्तुबारे जानकारी दिने उद्देश्यले सामुदायिक स्वास्थ्य साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो। अभियानमार्फत घरघर तथा समुदायस्तरमा पुगेर पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा समग्र महिला स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको आयोजकले जनाएको छ।

शिविरमा महिलालाई क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण, प्रजनन स्वास्थ्य तथा समयमै उपचार गराउँदा हुने फाइदाबारे जानकारीसमेत दिइएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७