होल्डिङ सेन्टरमा महिला र बालबालिकाको सुरक्षामाथि सांसद धितालको प्रश्न
काठमाडौं : प्रतिनिधि सभा सदस्य क्रान्तिशिखा धितालले भोटेकोशी बाढीबाट विस्थापित भई होल्डिङ सेन्टरमा आश्रय लिइरहेका महिला तथा बालबालिकाको सुरक्षा र गरिमामा विशेष ध्यान दिन सरकारसँग माग गरेकी छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद धितालले विपद्का कारण विस्थापित नागरिकका लागि स्थापना गरिएका होल्डिङ सेन्टरमा महिला तथा बालबालिकाको सुरक्षाको विषय थप संवेदनशील बनेको बताइन्। उनले भनिन्, 'करिब चार हजार नागरिक अहिले होल्डिङ सेन्टरमा आश्रित छन्। दैनिक सेवन गर्नुपर्ने औषधि बाढीले बगाएको छ। मरेका पशुचौपायाको उचित व्यवस्थापन नहुँदा महामारीको जोखिम बढेको छ। सञ्चार र विद्युत् अवरुद्ध हुँदा अझ धेरै प्रभावित बाहिरी संसारसँग सम्पर्कविहीन छन्।'
यी सबै संकटका बीच महिला तथा बालबालिकाको सुरक्षा र गरिमाको विषय अर्को गम्भीर चुनौती बनेको उनको भनाइ छ। 'तर यी सबै संकटभित्र अझ अर्को डरलाग्दो संकट छ—महिला र बालबालिकाको सुरक्षा र गरिमाको संकट', उनले भनिन्। होल्डिङ सेन्टरमा अपरिचित व्यक्तिहरूसँग एउटै कोठा साझा गर्नुपर्ने अवस्थाले महिला तथा बालबालिकाको सुरक्षामा जोखिम बढाउन सक्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन्। 'आफ्नै घरमा समेत महिलाको सुरक्षा चुनौतीपूर्ण हुने हाम्रो सामाजिक परिवेशमा अपरिचित व्यक्तिहरूसँग एउटै कोठा साझा गर्नुपर्दा उनीहरूको सुरक्षा र अस्मिताको अवस्था कस्तो होला ?' उनले प्रश्न गरिन्।
उद्धार तथा राहतका क्रममा थप असुरक्षा सिर्जना हुन नदिन राज्यले संवेदनशील भएर काम गर्नुपर्नेमा उनले जोड दिइन्। 'हामीले सकेको, जानेको गरिरहेका छौँ। तर उद्धारका नाममा हामीले कतै थप असुरक्षा त निम्त्याइरहेका छैनौँ ?' धितालले प्रश्न गरिन्।
.gif)

.png)

