सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार, राहत, पुनर्निर्माण तथा विपद् व्यवस्थापनमा समन्वय गर्न सर्वदलीय संयन्त्र गठन हुने भएको छ। बुधबार बसेको सर्वदलीय बैठकले सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा सहमति जुटाएको हो।
बैठकमा विपद्पछिको पुनर्स्थापना तथा आगामी दिनमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन राजनीतिक दलहरूबीच साझा संयन्त्र आवश्यक रहेको विषयमा छलफल भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा बैठकमा सहमति भएको जानकारी दिए। उनका अनुसार बैठकमा ‘सनसेट ल’ लागू गर्ने विषयमा समेत छलफल भएको थियो।
यसअघि भदौ १० गते रसुवामा विनाशकारी बाढी आएपछि भोलिपल्टै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनको प्रस्ताव गरेका थिए। लामिछानेको आह्वानमा बसेको बैठकमा रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीका शीर्ष नेताहरू सहभागी भएका थिए। उक्त बैठकमा लामिछानेले उद्धार तथा राहतदेखि पुनर्निर्माणसम्मका काममा सरकारलाई सहयोग, समन्वय र अनुगमन गर्न सर्वदलीय समिति वा संसदीय समिति गठन गर्नुपर्ने प्रस्ताव राखेका थिए। सहभागी दलहरूले प्रस्तावमा सहमति जनाउँदै १० बुँदे सङ्कल्पसमेत जारी गरेका थिए।
सङ्कल्पको १०औँ बुँदामा विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीमा निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न संसदीय समिति गठन गर्ने विषय समेटिएको थियो। प्रस्तावित संयन्त्रले विपद्पछि उद्धार र राहतमा मात्रै केन्द्रित नभई विपद्पूर्व तयारी, दिगो विकास तथा राष्ट्रिय विपद् नीतिमा आवश्यक सुधारका लागि समेत राजनीतिक सहमति निर्माण गर्ने उद्देश्य राखेको बताइएको छ।
यसअघि भदौ १६ गते बसेको सर्वदलीय बैठकले पनि यस्तो संयन्त्र गठन गर्ने विषयमा सहमति जनाएको थियो। तर, सहमति भए पनि संयन्त्रको औपचारिक गठन हुन सकेको थिएन। बुधबारको बैठकले भने संयन्त्र गठनका लागि सात दिनको समयसीमा निर्धारण गरेको हो। अब तोकिएको अवधिभित्र संयन्त्रको स्वरूप, सदस्यता र कार्यक्षेत्र टुंगो लगाएर गठन गर्ने तयारी छ।
.gif)

.png)

