प्रधानमन्त्रीले मलेसियाली समकक्षीसँग भने, ‘सिन्डिकेट र बिचौलियातन्त्र स्वीकार्य छैन’


२०८३ असोज ६ मंगलबार १४:२२ बजे

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्दै नेपाल–मलेसिया वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउन जोड दिएका छन् । बुधबार भएको टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री शाहले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई स्वीकार्य नभएको स्पष्ट पारेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

‘हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन । यसले श्रमिकलाई मारमा पारेको छ,’ शाहले भने, ‘त्यसैले तपाईंका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु ।’ प्रधानमन्त्री शाहले वैदेशिक रोजगारीका क्रममा देखिएका अव्यवहारिक तथा अन्यायपूर्ण प्रवृत्तिको स्थायी समाधानका लागि नेपाल र मलेसियाबीच संयुक्त पहल आवश्यक रहेको बताएका थिए ।

शाहको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै मलेसियाली प्रधानमन्त्री इब्राहिमले आफू पनि बिचौलिया प्रथाको विपक्षमा रहेको बताएका छन् । उनले यस विषयमा मलेसियाका श्रममन्त्रीलाई नेपाली समकक्षीसँग तत्काल समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएका छन् । ‘श्रम विवादमा देखिएका विषय सुल्झाउन म सकारात्मक छु । तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु,’ इब्राहिमले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७