जलवायु पीडित होइन, स्वच्छ ऊर्जा साझेदार बन्नुपर्छ : समृद्धी ज्ञवाली


२०८३ असोज ८ बिहीबार १८:२३ बजे

न्युयोर्क : नेपाली सञ्चार उद्यमी तथा जलवायु एवं स्वच्छ ऊर्जा अभियन्ता समृद्धि ज्ञवालीले नेपालले अन्तर्राष्ट्रिय जलवायु बहसमा ‘जलवायु पीडित’को परिचयबाट अघि बढेर दक्षिण एसियाको स्वच्छ ऊर्जा रूपान्तरणको साझेदारका रूपमा आफूलाई प्रस्तुत गर्नुपर्ने बताएकी छन्।

न्युयोर्कमा आयोजित क्लाइमेट विकका विभिन्न कार्यक्रममा सहभागी हुँदै ज्ञवालीले नेपालको जलवायु कूटनीतिलाई जलवायु जोखिम, ‘लस एन्ड ड्यामेज’ र अनुकूलन सहयोगको मागमा मात्र सीमित नराखी स्वच्छ ऊर्जा, लगानी, प्रविधि, क्षेत्रीय विद्युत् व्यापार र आर्थिक अवसरसँग जोड्नुपर्ने धारणा राखेकी हुन्।

नेपालसँग हिमालय, जलस्रोत र जलविद्युत्को ठूलो सम्भावना रहेको भन्दै उनले दक्षिण एसियामा विद्युतीकरण, डेटा सेन्टर, कृत्रिम बौद्धिकता (एआई) र नयाँ प्रविधिका कारण विद्युत्को माग बढ्दै जाने अवस्थामा नेपालले आफ्नो नवीकरणीय ऊर्जा सम्भावनालाई क्षेत्रीय ऊर्जा प्रणालीको हिस्सा बनाउन सक्ने अवसर रहेको बताइन्। 

‘नेपाल हिमनदी पग्लिरहेको र समुदाय जलवायु परिवर्तनबाट पीडित भइरहेको देशका रूपमा मात्र चिनिइरहन सक्दैन। हामीले अझ ठूलो कथा भन्न आवश्यक छ', उनले भनिन्, 'नेपाललाई जलवायु न्यायको माग गरिरहेको देशका रूपमा मात्र होइन, दिगो ऊर्जामार्फत ग्लोबल साउथको भविष्यलाई ऊर्जा उपलब्ध गराउन सक्ने देशका रूपमा पनि प्रस्तुत गर्नुपर्छ।’

ज्ञवालीले जलवायु न्यायको बहसलाई क्षतिपूर्ति र ‘लस एन्ड ड्यामेज’भन्दा फराकिलो बनाउनुपर्ने बताइन्। जलवायु जोखिममा रहेका देशले जलवायु वित्त, प्रविधि हस्तान्तरण र अनुकूलन सहयोगसँगै उत्थानशील पूर्वाधार निर्माण तथा स्वच्छ ऊर्जा बजारमा पहुँच पाउने अवसर पनि पाउनुपर्ने उनको धारणा छ। 

‘नेपालका लागि जलवायु न्याय भनेको ‘लस एन्ड ड्यामेज’को क्षतिपूर्ति मात्र होइन। यसले वित्त, प्रविधि, उत्थानशील पूर्वाधार र बजारमा पहुँचसमेत सुनिश्चित गर्नुपर्छ, जसले नेपाललाई आफ्नो स्वच्छ ऊर्जा सम्भावनालाई आर्थिक अवसरमा रूपान्तरण गर्न सघाओस्’, ज्ञवालीले भनिन्। 

उनले नेपालले स्वच्छ ऊर्जा आपूर्तिकर्ता बन्न जलविद्युत् उत्पादन क्षमता मात्र बढाएर नपुग्ने बताइन्। प्रसारण प्रणाली, ऊर्जा भण्डारण, क्षेत्रीय विद्युत् अन्तरसम्बन्ध, जलवायु उत्थानशील पूर्वाधार तथा भरपर्दो र सुलभ विद्युत् आपूर्तिमा ठूलो लगानी आवश्यक रहेको उनको भनाइ छ।

न्युयोर्कमा आफूले देखेको महत्त्वपूर्ण विरोधाभास जलवायु न्यायप्रतिको बढ्दो विश्वव्यापी चासो र ऊर्जा, प्रविधि तथा महत्त्वपूर्ण खनिजका लागि तीव्र बन्दै गएको विश्वव्यापी प्रतिस्पर्धा रहेको समेत ज्ञवालीले बताइन्।

विशेषगरी गहिरो समुद्री उत्खननसम्बन्धी बहसले विश्व अर्थतन्त्रमा स्रोत र ऊर्जाको प्रतिस्पर्धा कसरी विस्तार भइरहेको छ भन्ने देखाएको उनले बताइन्। द मेटल्स कम्पनी यूएसएले समुद्री सतहमा रहेका खनिजको अन्वेषण तथा व्यावसायिक उत्खनन अनुमतिका लागि अमेरिकी नेसनल ओसियानिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसन (एनओएए)समक्ष आवेदन दिएको र ती आवेदन समीक्षा प्रक्रियामा रहेको उनले उल्लेख गरिन्। 

एनओएएका अनुसार अमेरिकाले हालसम्म कुनै व्यावसायिक समुद्री खनिज उत्खनन अनुमति जारी गरेको छैन। ज्ञवालीले नेपालले जलवायु कूटनीतिलाई ऊर्जा, वित्त, प्रविधि, खनिज र क्षेत्रीय विकासका बहससँग जोड्नुपर्ने बताइन्। हिमालय केवल जलवायु जोखिममा परेको क्षेत्र होइन, दक्षिण एसियाको पानी, ऊर्जा र पारिस्थितिक भविष्यसँग जोडिएको रणनीतिक क्षेत्र रहेको उनले बताइन।

क्लाइमेट विकका क्रममा ज्ञवालीले वातावरणीय अभियन्ता जेन फोन्डा र एरिन ब्रोकोभिचसँग पनि भेटेर नेपाल र हिमालयले सामना गरिरहेका जलवायु चुनौतीबारे छलफल गरेकी थिइन्। यस्ता अभियानलाई अब संस्थागत काम, लगानी, साझेदारी र स्वच्छ ऊर्जा रूपान्तरणसँग जोड्नुपर्ने उनको धारणा छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७