कांग्रेसमा संशोधित विधानअनुसार उम्मेदवारी मनोनयन सुरु,  २९७ सदस्यीय केन्द्रीय समिति बन्ने


२०८३ असोज २० मंगलबार ०९:५३ बजे

काठमाडौं : नेपाली कांग्रेसको संशोधित विधान पारित भएसँगै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भएको छ।

मंगलबार बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन फारम वितरण सुरु भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उम्मेदवारी दर्ताका लागि भने दिउँसो १२ः३० देखि ४ बजेसम्मको समय तोकिएको छ।

यसअघि बिहान ९ः३० बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोधका लागि समय दिइएको थियो। 

प्राप्त उजुरीमाथि बिहान १०ः३० बजेसम्म जाँचबुझ गरी ११ः३० बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ। संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। 

जसमा सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार र महामन्त्री तीन जना रहने व्यवस्था गरिएको छ। 

चार उपसभापति र तीन महामन्त्रीमध्ये कम्तीमा एक–एक जना महिला अनिवार्य गरिएको छ। सहमहामन्त्रीको संख्या १५ रहनेछ।

कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जना मनोनीत हुने व्यवस्था छ।

केन्द्रीय सदस्यतर्फ खुला ४५, महिला १५ तथा प्रत्येक प्रदेशबाट एक महिलासहित चार जनाका दरले सदस्य रहनेछन्। 

काठमाडौं उपत्यकाबाट एक महिलासहित दुई जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।

समावेशी समूहअन्तर्गत दलिततर्फ पाँच महिलासहित १४, आदिवासी जनजातितर्फ आठ महिलासहित २०, खस आर्यतर्फ आठ महिलासहित १८ र मधेसीतर्फ पाँच महिलासहित १३ जना रहनेछन्।

त्यस्तै जनसम्पर्क समितिबाट दुई महिलासहित सात, पिछडिएको वर्गबाट तीन, थारूतर्फ दुई महिलासहित छ, श्रमिकतर्फ एक महिलासहित तीन तथा पेसागत विज्ञतर्फ दुई महिलासहित सात जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।

सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा, अपाङ्गता भएका व्यक्तिबाट एक जना र प्रजातन्त्र सेनानीबाट तीन जना केन्द्रीय सदस्य रहनेछन्।

संशोधित विधानले केन्द्रीय कार्यसमितिलाई थप ६६ जना सदस्य मनोनीत गर्न सक्ने अधिकारसमेत दिएको छ।

यससँगै कांग्रेसको नयाँ संरचनाअनुसार नेतृत्व र केन्द्रीय सदस्य चयनका लागि उम्मेदवारी प्रक्रिया अघि बढेको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७