चार निर्माण कम्पनी दुई वर्षका लागि कालोसूचीमा
काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राखेको छ।
कार्यालयले असोज १९ गते गरेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखिएको हो।
कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
कारबाहीमा पर्ने कम्पनीमा बाँकेको कोहलपुर–१४ स्थित एस.एस. निर्माण सेवा प्रा.लि. रहेका छन्। उक्त कम्पनीका मुख्य व्यक्ति रामजी यादव हुन्। सडक डिभिजन कार्यालय नेपालगन्जको सिफारिसका आधारमा कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको हो।
त्यस्तै जाजरकोटको शिवालय–३ स्थित थापा कन्स्ट्रक्सन सेवा पनि कालोसूचीमा परेको छ। कम्पनीका मुख्य व्यक्ति लालबहादुर थापा रहेका छन्।
यस कम्पनीलाई पनि सडक डिभिजन कार्यालय नेपालगन्जकै सिफारिसमा दुई वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
मुगुको सोरु गाउँपालिकास्थित गगन निर्माण सेवा समेत कारबाहीमा परेको छ। कम्पनीका मुख्य व्यक्ति गगनबहादुर शाही हुन्। सडक डिभिजन कार्यालय नेपालगन्जको सिफारिसमा उक्त कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको हो।
यसैगरी रौतहटको भसेड्वा–५ स्थित माँ बौधी कन्स्ट्रक्सन पनि दुई वर्षका लागि कालोसूचीमा परेको छ। कम्पनीका मुख्य व्यक्ति दिपलाल प्रसाद यादव रहेका छन्।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर, रौतहटको सिफारिसमा कम्पनीमाथि कारबाही गरिएको कार्यालयले जनाएको छ।
सम्बन्धित सार्वजनिक निकायबाट प्राप्त सिफारिस तथा पत्रका आधारमा निर्णय गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।
हेर्नूहोस् सूचनाः

.gif)

.png)


