सम्झौताअनुसार काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा
जुम्ला : सम्झौताअनुसार सडक निर्माण तथा स्तरोन्नतिको काम नगर्ने जुम्लाका ६ वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
जुम्ला हुँदै मनाङ–मुस्ताङ जोड्ने सडक, कर्णाली राजमार्ग तथा नाग्म–गमगडी सडकको निर्माण र स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७५ देखि २०८० सम्म सडक डिभिजन कार्यालयसँग सम्झौता गरेका कम्पनीले समयमै काम सम्पन्न नगरेपछि कारबाहीका लागि सिफारिस गरिएको थियो।
सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंमा कालोसूचीमा राख्न सिफारिस गरिएको थियो । सोही सिफारिसका आधारमा ६ कम्पनीलाई विभिन्न अवधिका लागि कालोसूचीमा राखिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले जानकारी दिए।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम विनम्र निर्माण सेवा, सुर्खेतलाई तीन वर्ष, ध्रुव निर्माण सेवा, वीरेन्द्रनगर सुर्खेतलाई दुई वर्ष र अविनाश निर्माण सेवा, छायानाथ मुगुलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ।
त्यस्तै, शंकरमाली निर्माण सेवा, काठमाडौं र मान शाही निर्माण सेवा, कालीकोटलाई तीन–तीन वर्ष तथा कश्यप निर्माण सेवा, काठमाडौंलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको सडक डिभिजन कार्यालयका सबइन्जिनियर वीरेन्द्र रावलले बताए।
कालोसूचीमा परेका निर्माण कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायबाट हुने कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।
.gif)

.png)


