एनपीएलमा सुदूरपश्चिमबाट खेल्दै रदरफोर्ड, जनकपुरमा पाकिस्तानी बलर साह


२०८३ कार्तिक ९ आइतबार ०८:०१ बजे

काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि सुदूरपश्चिम रोयल्सले वेष्ट इण्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डलाई टोलीमा अनुबन्ध गरेको छ। 

यस्तै, जनकपुर बोल्ट्सले पाकिस्तानका तीव्र गतिका बलर हुनेन साहलाई भित्र्याएको छ।

सुदूरपश्चिम रोयल्सले रदरफोर्डलाई टोलीमा समावेश गरेको औपचारिक जानकारी दिएको हो। टोलीका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डको आगमनले ब्याटिङ पक्ष थप बलियो हुने विश्वास व्यक्त गरेका छन्।

‘रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ। उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरेका छौँ,’ खड्काले भने।

२८ वर्षीय बायाँहाते ब्याटर रदरफोर्ड टी–२० क्रिकेटमा आक्रामक खेलका लागि परिचित छन्। 

उनले वेष्ट इण्डिजका लागि ३१ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ८७३ रन बनाएका छन्। त्यस्तै, ६१ टी–२० अन्तर्राष्ट्रिय खेलमा उनको नाममा एक हजार १२३ रन छ।

यसैबीच, जनकपुर बोल्ट्सले पाकिस्तानका २४ वर्षीय तीव्र गतिका बलर हुनेन साहलाई अनुबन्ध गरेको छ। 

पाकिस्तानको घरेलु क्रिकेटमा अनुभव बटुलेका साहले पाकिस्तान सुपर लिग (पिएसएल) र क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा समेत खेलिसकेका छन्।

साहले सन् २०२६ को पिएसएलमा १० खेल खेल्दै १७ विकेट लिएका थिए। त्यसपछि क्यारेबियन प्रिमियर लिगमा जमैका किङ्समेनबाट खेलेका उनले १३ खेलमा १६ विकेट लिए। 

उक्त प्रतियोगितामा उनी संयुक्त रूपमा सर्वाधिक विकेट लिने बलर बनेका थिए।

विदेशी फ्रेन्चाइज लिगको अनुभव भएका साहका लागि एनपिएल दोस्रो विदेशी लिग प्रतियोगिता हुनेछ।

तेस्रो संस्करणको एनपिएल सोमबारदेखि काठमाडौँमा आयोजना हुँदैछ। प्रतियोगिताका लागि विभिन्न टोलीले विदेशी खेलाडी भित्र्याउँदै आफ्नो टिमलाई प्रतिस्पर्धात्मक बनाउने तयारी गरिरहेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७