कुलेखानीमा एक घण्टामै २२ सेन्टिमिटर पानी बढ्यो

तल्लो तटीय क्षेत्रमा सतर्कता


२०८३ कार्तिक १४ शनिबार १२:४६ बजे

मकवानपुर : लगातारको वर्षापछि मकवानपुरस्थित कुलेखानी जलाशयमा पानीको सतह तीव्र गतिमा बढेको छ। शनिबार एक घण्टामै जलाशयको सतह २२ सेन्टिमिटर बढेपछि आयोजनाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार शनिबार बिहान ११ बजे जलाशयको सतह १ हजार ५२७ दशमलव ९३ मिटर थियो। दिउँसो १२ बजेसम्म बढेर १ हजार ५२८ दशमलव १५ मिटर पुगेको छ।

जलाशयको अधिकतम जलसतह सीमा १ हजार ५३० मिटर हो। पछिल्लो मापनअनुसार पानीको सतह अधिकतम सीमाभन्दा १ दशमलव ८५ मिटर मात्रै तल छ।

वर्षा निरन्तर भइरहेकाले जलाशयमा पानीको बहाव थप बढ्न सक्ने आयोजनाको अनुमान छ। पानीको सतह व्यवस्थापन गर्न आवश्यक परे बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने जनाइएको छ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले यसअघि नै पहिलो चेतावनी जारी गरिसकेको छ। बाँधबाट पानी छाड्नुपर्ने अवस्था आए थप सूचना प्रवाह गर्नुका साथै साइरन बजाइने आयोजनाले जनाएको छ।

पानी छाडिएमा तल्लो तटीय क्षेत्रमा नदीको बहाव बढ्न सक्ने भएकाले नदीकिनार आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। नदीमा आवतजावत नगर्न र जोखिमयुक्त क्षेत्रबाट टाढा रहन पनि आयोजनाले अनुरोध गरेको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले पनि जलाशयमा पानीको सतह तीव्र रूपमा बढिरहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले नदीकिनार तथा जोखिमयुक्त स्थान छाडेर अग्लो र सुरक्षित ठाउँमा बस्न अनुरोध गरेका छन्।

आयोजनाले मोबाइलमा आउने एसएमएस तथा आधिकारिक सूचनालाई ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी देउराली–सिस्नेरी सडकखण्ड प्रयोग गर्ने यात्रुलाई सम्भावित जोखिमप्रति सचेत रहँदै यात्रा गर्न भनिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७