गोरखाले नै मलाई गृहमन्त्री बनाएको हो, जिल्लाको ऋण तिर्नेछु : सुधन गुरुङ
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले गोरखाको विकास र जिल्लावासीका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीसँगको अन्तर्क्रियामा उनले जिल्लाका समस्या र नागरिकका अपेक्षालाई गम्भीरतापूर्वक लिने बताएका हुन् ।
गोरखाले नै आफूलाई गृहमन्त्री बनाएको स्मरण गराउँदै उनले जिल्लाको विकासमा आफ्नो ध्यान रहने बताए । सरकारमा आएको ६ महिना मात्रै भएको उल्लेख गर्दै उनले विकास निर्माणदेखि नागरिकका दैनिक समस्यासम्म समाधान गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
अन्तर्क्रियामा सहभागीहरूले गोरखाको विकास निर्माण, कृषि, पर्यटन र उद्योग–व्यवसाय क्षेत्रका समस्याबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
सहभागीहरूले गोरखा पूर्वाधार विकासमा पछाडि परेको र पर्यटकीय सम्भावना हुँदाहुँदै पनि त्यसको पर्याप्त उपयोग हुन नसकेको गुनासो गरेका थिए ।
जिल्लाको समग्र विकासलाई गति दिन सडक तथा अन्य आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उनीहरूको माग थियो ।
त्यस्तै, कृषि उत्पादनले उचित बजार र मूल्य नपाउँदा किसान समस्यामा परेको विषय पनि उठाइएको थियो ।
नेपाली किसानले उत्पादन गरेका तरकारीले बजारमा प्राथमिकता पाउनुपर्ने र स्थानीय उत्पादनको बजारीकरणका लागि सरकारले प्रभावकारी भूमिका खेल्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
उद्योगी तथा व्यवसायीहरूले जिल्लामा उद्योग–व्यवसाय सञ्चालन गर्दा भोग्नुपरेका समस्या र व्यावसायिक वातावरण सुधारको आवश्यकताबारे पनि धारणा राखेका थिए ।
गोरखामा उपलब्ध स्रोतसाधन र सम्भावनाको सदुपयोग गरी आर्थिक गतिविधि विस्तार गर्न तथा स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने उनीहरूको माग थियो ।
.gif)

.png)




