गोरखाबाट हनुमानढोकामा पठाइयो फूलपाती
गोरखा : बडादसैँको सातौँ दिन शनिबार (असोज ३१) गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौंस्थित हनुमानढोका दरबारमा पठाइएको छ।
शुभसाइतअनुसार बिहान ९ बजे विधिपूर्वक पूजाअर्चना गरी बाजागाजासहित डोली बिदाइ गरिएको हो। गोरखा दरबारका सुसारेहरूले बोकेर ल्याएको डोली सरकारी गाडीमार्फत काठमाडौं पठाइएको गोरखा दरबारका नायब सुब्बा हरि सारूले जानकारी दिए।
गोरखाबाट पठाइएको फूलपाती शनिबार साँझ हर्षबढाइँसहित हनुमानढोकामा भित्र्याउने परम्परा छ। ऐतिहासिक मान्यताअनुसार पृथ्वीनारायण शाहले काठमाडौंमा राजकाज सुरु गरेपछि गोरखाबाट हरेक वर्ष फूलपाती पठाउने परम्परा चल्दै आएको हो।
यस परम्पराले गोरखा दरबार र हनुमानढोका दरबारबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिँदै आएको छ।
.gif)

.png)



