दशैंका लागि खुल्दै तातोपानी नाका


२०८३ कार्तिक १ शनिबार १२:१० बजे

काठमाडौं :  चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी दसैंलाई लक्षित गर्दै तीन दिनका लागि अस्थायी रूपमा खुल्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले चिनियाँ पक्षसँग छलफल गरेपछि नाका सञ्चालनमा ल्याउने सहमति भएको हो।

नेपाली बजारमा चाडपर्वका लागि आवश्यक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन नेपालले गरेको विशेष आग्रहपछि चिनियाँ पक्ष नाका खोल्न सहमत भएको जनाइएको छ।

तातोपानी नाका अक्टोबर १८ देखि २० सम्म सञ्चालन हुनेछ। यस अवधिमा चिनियाँ भूमिमा रोकिएका र भन्सार प्रक्रिया पूरा गरेका कार्गो ट्रक तथा मालवाहक सवारीसाधनलाई मात्रै आवतजावत गर्न दिइनेछ।

दसैंको मुखमा चिनियाँ सामान बोकेका कन्टेनर नाकामै रोकिँदा व्यापारीहरू समस्यामा परेका थिए। सामानको आपूर्ति प्रभावित हुँदा बजारमा अभाव हुन सक्ने र मूल्यवृद्धि हुन सक्ने जोखिमलाई ध्यानमा राखेर नाका खोल्ने निर्णय गरिएको हो।

चाडपर्वका बेला उपभोग्य वस्तुको अभाव र मूल्यवृद्धि रोक्न सरकारले कूटनीतिक तथा व्यापारिक तहमा पहल अघि बढाएको थियो। मन्त्री साहको पहलपछि नाका सञ्चालन गर्ने सहमति जुटेको हो।

तीन दिन नाका सञ्चालनमा आउँदा रोकिएका मालवाहक सवारीसाधनमार्फत कपडा, फलफूललगायत दसैंका लागि आयात गरिएका सामग्री नेपाली बजारसम्म ल्याउन सहज हुने अपेक्षा गरिएको छ। यसबाट व्यवसायीलाई राहत पुग्नुका साथै उपभोक्तालाई पनि लाभ हुने विश्वास गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७