नेपाल–स्विट्जरल्यान्ड संसदीय सहकार्य विस्तारमा जोड
काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र नेपाल भ्रमणमा रहेका स्विट्जरल्यान्डको नेसनल काउन्सिलका अध्यक्ष पियरे आन्द्रे पाजबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा सोमबार भएको भेटमा नेपाल–स्विट्जरल्यान्ड सम्बन्ध, संसदीय सहकार्य विस्तार, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा विकास सहकार्यका विषयमा छलफल भएको हो ।
भेटमा अध्यक्ष दाहालले नेपाल–स्विस संसदीय मैत्री समूह गठन भएको जानकारी गराउँदै यसमार्फत दुई देशबीच संसदीय अभ्यास र अनुभव आदानप्रदानका साथै सहकार्य विस्तार हुने विश्वास व्यक्त गरे ।
नेपाल र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ मनाइरहेको उल्लेख गर्दै उनले स्विस संसदीय नेतृत्वको भ्रमणले दुई देशबीचको मित्रता र संसदीय सम्बन्ध थप बलियो बनाउने बताए ।
त्यस अवसरमा नेपालको संसदीय अभ्यास सुदृढ बनाउन स्विट्जरल्यान्डको सूचना प्रविधि, नवीन विधायिकी अभ्यास र प्राविधिक सहयोगबाट सिक्न आफूहरू इच्छुक रहेको अध्यक्ष दाहालको भनाइ थियो । प्रत्यक्ष लोकतन्त्र र संघीयताको अभ्यासमा स्विट्जरल्यान्डको अनुभव नेपालका लागि उपयोगी हुने उनले बताए ।
रसुवा–भोटेकोशी बाढीबाट प्रभावित समुदायका लागि स्विट्जरल्यान्डले उपलब्ध गराएको मानवीय सहायताप्रति धन्यवाद दिँदै अध्यक्ष दाहालले जलवायु न्याय, जलवायु वित्तमा सहज पहुँच र जलवायु परिवर्तनबाट बढी प्रभावित संवेदनशील राष्ट्रहरूको हित संरक्षणका लागि सहकार्यको अपेक्षा गरे ।
नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनको असर बढी भोग्नुपरेको उल्लेख गर्दै उनले विपद् जोखिम न्यूनीकरणलाई दुवै देशको साझा सरोकारका रूपमा अघि बढाउनुपर्ने बताए ।
“नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अझ सुदृढ बनाउन संघ, प्रदेश र स्थानीय तहका लोकतान्त्रिक संस्थाहरूको क्षमता तथा प्रभावकारिता अभिवृद्धिमा सहकार्यको अपेक्षा गरेका छौँ,” अध्यक्ष दाहालले भने ।
यसैगरी भेटमा स्विट्जरल्यान्डको नेसनल काउन्सिलका अध्यक्ष पाजले नेपाल भ्रमण गर्न पाउँदा खुसी लागेको बताउँदै संसदीय सहकार्यलाई प्राथमिकतामा राखेको उल्लेख गरे । नेपाल–स्विट्जरल्यान्ड सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा शुभकामना व्यक्त गर्दै उनले पारस्परिक सम्मान र विश्वासमा आधारित दुई देशको मित्रता महत्त्वपूर्ण रहेको बताए ।
नेपालको संसद्ले संसदीय मैत्री समूह गठन गरिसकेकोमा खुसी व्यक्त गर्दै अध्यक्ष पाजले स्विट्जरल्यान्डले पनि छिट्टै त्यस्तो समूह गठन गर्ने जानकारी दिए । नेपाल र स्विट्जरल्यान्ड दुवै हिमाली देश भएकाले धेरै विषयमा समानता रहेको उल्लेख गर्दै उनले आपसी सहयोग र अनुभव आदानप्रदानका लागि आफ्नो देश सधैँ तयार रहेको बताए ।
.gif)

.png)




