३४ सदस्यीय सरकारी टोलीसहित प्रधानमन्त्री शाह भारत जाँदै
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ३४ सदस्यीय सरकारी टोलीको नेतृत्व गर्दै मंसिर ६ गते भारतको राजकीय भ्रमणमा जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री शाह आइतबार मध्याह्न १ बजेर ४५ मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गर्ने जानकारी दिएको हो ।
भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाहलगायत उच्चपदस्थ अधिकारी रहने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए ।
सरकारी भ्रमण टोली ३४ सदस्यीय हुनेछ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका राजदूतसहित केही अधिकारी पनि भ्रमणमा सहभागी हुनेछन् ।
प्रधानमन्त्रीसँगै निजी क्षेत्रका ५२ सदस्य आफ्नै खर्चमा भ्रमणमा सहभागी हुने भएका छन् । निजी सञ्चारमाध्यमका पत्रकार पनि आफ्नै खर्चमा भ्रमणमा जानेछन् ।
समग्रमा प्रधानमन्त्रीको भारत भ्रमणमा एक सयभन्दा बढी व्यक्ति सहभागी हुनेछन् ।
प्रधानमन्त्री शाहले मंसिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।
परराष्ट्र सचिव राईका अनुसार भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ ।
व्यापार, पारवहन, लगानी, सम्पर्क सञ्जाल तथा पूर्वाधारलगायतका विषयमा आर्थिक सहकार्यबारे छलफल हुनेछ ।
.gif)

.png)




