राउटेको परम्परागत सीपलाई आयआर्जनसँग जोड्ने सरकारको प्रतिबद्धता
काठमाडौं : लोपोन्मुख राउटे समुदायले आफ्नो परम्परागत जीवनशैली, भाषा, कला र सांस्कृतिक पहिचान संरक्षणका लागि सरकारसँग विशेष पहल गर्न माग गरेको छ ।
सोमबार कार्यवाहक प्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गर्दै समुदायका प्रतिनिधिहरूले परम्परागत सीप र संस्कृति संरक्षणका लागि राज्यको सहयोग आवश्यक रहेको बताएका हुन् ।
भेटमा राउटे समुदायको परम्परागत काष्ठकला तथा हस्तकलाको प्रवर्धन, भाषा र संस्कृतिको संरक्षण, सामाजिक सुरक्षा तथा दिगो आयआर्जनका अवसर सिर्जना गर्नुपर्ने विषय उठाइएको थियो ।
छलफलमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक मन्त्री सीता वादी पनि सहभागी थिए ।
कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले राउटे समुदायको मौलिक पहिचान र परम्परागत सीप संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन् ।
उनले समुदायको सीपलाई आयआर्जनसँग जोड्ने, भाषा तथा कलाको संरक्षण गर्ने र आवश्यक सामाजिक सुरक्षाको व्यवस्था मिलाउने विषयमा सरकार सकारात्मक रहेको बताए ।
यसका लागि स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरेर काम गर्नुपर्ने उनको भनाइ थियो । श्रेष्ठले राउटे समुदायको माग सम्बोधन गर्न आवश्यक समन्वय र व्यवस्था मिलाउन सम्बन्धित मन्त्रीलाई निर्देशनसमेत दिएका छन् ।
.gif)

.png)




