ग्रेटर नेपालको नक्सा टाँस्ने बालेनले भारतमा सीमा विवाद उठाएनन् : ओली


२०८३ मङ्सिर १० बिहीबार १८:१५ बजे

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई उपलब्धिविहीन भन्दै सीमा विवादलगायत राष्ट्रिय हितका विषयमा छलफल गर्ने अवसर गुमाएको टिप्पणी गरेका छन् ।

भ्रमणअघि सरोकारवालासँग आवश्यक संवाद नगरेको र २५ घण्टाका लागि मात्रै भारत गएर फर्किएको भन्दै उनले प्रधानमन्त्रीको भ्रमणलाई निजी भ्रमणजस्तो बनाइएको आरोप लगाए । 

बिहीबार राजधानीमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको भेटमा ओलीले विगतमा महानगरको कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा सीमा विवादबारे कुनै शब्द नबोलेको दाबी गरे ।

भारत जानुअघि प्रधानमन्त्री शाहले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न राजनीतिक दल तथा अन्य सरोकारवालासँग छलफल गरेका थिएनन् । भ्रमण छोटो भएकाले राष्ट्रहितका एजेन्डामा गहिरो संवाद गर्ने अवसरसमेत गुमेको ओलीको भनाइ थियो ।

‘प्रधानमन्त्री जाँदा उहाँसँग सिंगै राष्ट्र जानुपर्ने हो, तर त्यो उहाँको निजी भ्रमणजस्तो हुन पुग्यो,’ ओलीले भने, ‘प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन । जेजति भए, ती विगतमै भइसकेका विषयका निरन्तरता मात्रै हुन् ।’

विगतमा जनकपुरमा दिने भनिएको र भूकम्पपछिको पुनर्निर्माणका लागि प्रतिबद्धता गरिएको सहायता प्राप्त नभएको उदाहरण दिँदै ओलीले यसपटक पनि भारतबाट आर्थिक तथा विकास सहायता आउने आशामा धेरै उत्साहित नहुन सचेत गराए ।

उनले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का विषयमा सरकारले अनुचित ढंगले अडान छाडेको भन्दै आलोचना गरे ।

दुई देशका सरकारले सीमा लगायतका विषयमा समझदारीका साथ अघि बढ्न गठन गरेको ईपीजीलाई अहिले बीचैमा असान्दर्भिक घोषणा गर्न खोजिएको उनको आपत्ति थियो ।

ओलीले आफूलाई गत वर्ष भदौमा संवैधानिक प्रक्रियाबाट नभई ‘हुल्लडबाज’हरूबाट अपदस्थ गरिएको दाबी पनि गरे ।

आफू प्रधानमन्त्री रहेका बेला अमेरिकी रक्षा तथा सुरक्षा रणनीतिसम्बन्धी कार्यक्रम एसपीपीको मस्यौदा तयार पारेर हस्ताक्षर गर्ने तयारी भएको अवस्थामा त्यसलाई आफूले असफल बनाएको उनको भनाइ थियो ।

तर उक्त मस्यौदा कसरी तयार भयो र आफूले कसरी रोके भन्नेबारे उनले विस्तृत खुलाएनन् ।

सम्पादकहरूसँगको अनौपचारिक संवादमा ओलीले आफ्ना अभिव्यक्ति गोप्य नरहने र त्यसकै कारण आफूलाई नकारात्मक रूपमा चित्रण गरिने पात्रका रूपमा प्रस्तुत गरिँदै आएको बताए ।

आफ्नो नेतृत्वको सान्दर्भिकताबारे सम्पादकहरूले पटकपटक प्रश्न उठाएपछि ओलीले आफ्ना गलत नीति भए त्यसबारे स्पष्ट लेख्न चुनौती दिए । ‘मेरा गलत नीतिहरू केही थिए भने त्यो लेखेर दिनुहोस् । खालि हट् हट् मात्रै नभन्नुहोस्,’ उनले भने ।

ट्रम्प र मोदी पनि उमेरले पाका रहेको उल्लेख गर्दै उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा पनि पाको उमेरकै रहेको बताए ।

ओलीले वर्तमान सरकारले प्रेसमाथि कडा व्यवहार गर्दा पनि सञ्चारमाध्यमबाट पर्याप्त प्रतिवाद हुन नसकेको आरोप लगाए । पञ्चायतकाल र शाही शासनकालमा प्रेसले कडा प्रतिवाद गरेको स्मरण गराउँदै उनले अहिले सञ्चारमाध्यममै प्रहरी प्रवेश गर्दा पनि सरकारको विरोध नभइरहेको जिकिर गरे ।

लोकतन्त्रका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा आवश्यक रहेको उनको भनाइ थियो ।

उनले न्यायालयको कामकारबाहीप्रति पनि ओलीले असन्तुष्टि व्यक्त गरे । न्यायसम्पादन राम्रोसँग हुन नसकेको र त्यसमा सरकारी प्रभाव देखिएको संकेत गर्दै उनले संवैधानिक अंगहरूबाट भइरहेका कामसमेत चित्तबुझ्दो नरहेको बताए ।

‘हुन त यो कुरा बोल्यो भने अदालतको अवहेलना भन्छन्, तर अदालतको मान पीडितले मात्रै राखेर पुग्दैन, शासकले पनि मान राख्नुपर्छ,’ उनले भने, ‘अनुचित कामहरू भइरहेका छन्, त्यसको विरोध हुनुपर्ने जसरी भइरहेको छैन ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७