सरकारलाई शिक्षक महासंघको चेतावनी : सहमति कार्यान्वयन गर, नत्र आन्दोलन

५४ सूत्रीय माग सम्बोधन गर्न शिक्षक महासंघको अल्टिमेटम


२०८३ मङ्सिर १३ आइतबार १५:१० बजे

काठमाडौं :  विगतमा भएका सहमति कार्यान्वयनमा सरकार इमान्दार नदेखिएको भन्दै नेपाल शिक्षक महासंघले निर्णायक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। महासंघका अध्यक्ष सुन्दर पन्त र महासचिव तुलाबहादुर थापाले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक तथा कर्मचारीका माग सम्बोधन गर्न सरकार उदासीन बनेको आरोप लगाएका छन्।

शिक्षक आन्दोलनपछि वार्तामा सहमति गर्ने तर कार्यान्वयन गर्ने बेला राज्य जिम्मेवार नबन्ने प्रवृत्तिका कारण शिक्षक तथा कर्मचारीले लामो समयदेखि उही मागका लागि संघर्ष गर्नुपरेको महासंघको भनाइ छ।

‘शिक्षक आन्दोलनपछि वार्तामा शिक्षक-कर्मचारीसँग सहमति गर्ने, सार्वजनिक खपतका लागि शिक्षा र शिक्षक-कर्मचारीको पक्षमा अग्रगामी भई बोल्ने तर तिनै विषय कार्यान्वयनमा भने कहिल्यै इमान्दार र जिम्मेवार नहुने राज्य चरित्रका कारण लामो समयदेखि थुप्रै पीडा सहेर शिक्षक-कर्मचारीले उही र उस्तै माग मुद्दामा लडिरहनु परेको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ।

महासंघले विशाल जनमतसहित गठन भएको वर्तमान सरकारले समेत शिक्षक तथा कर्मचारीका समस्याप्रति संवेदनशीलता नदेखाएको जनाएको छ। महासंघले सरकारसमक्ष सातबुँदे माग अघि सारेको छ। तीमध्ये विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास (ईसीडी) शिक्षकका लागि दरबन्दी सिर्जना गरी पदअनुसार नेपाल सरकारबाट तलबभत्ता उपलब्ध गराउनुपर्ने माग प्रमुख छ।

त्यस्तै, नेपाल शिक्षक महासंघसँग संस्थागत सहकार्य र संवाद गरी विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय, विद्यार्थी तथा शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गरिएको छ। महासंघले तेस्रो राष्ट्रिय परिषद्बाट पारित गरी पेस गरिएको ५४ सूत्रीय माग तत्काल सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।

त्यसैगरी, शिक्षा नियमावली (दशौँ संशोधन) को नियम १८७ को उपनियम ३ अनुसार मन्त्रालयमा पेस गरिएको विधान तत्काल स्वीकृत गर्न माग गरेको छ। महासंघले यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्न आग्रह गर्दै माग सम्बोधन नभए कडा र निर्णायक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यही परिस्थिति निरन्तर रहेमा नेपाल शिक्षक महासंघ कडा र निर्णायक आन्दोलनमा जान बाध्य हुने कुरा समेत जानकारी गराउँदै निम्न विषयमा वर्तमान सरकार एवं शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराउँछौँ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७