सुपर त्रिशूली जलविद्युतको अनुमति लिने–दिने दुवै प्रश्नको घेरामा : डा. स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले त्रिशूली नदीमा प्रस्तावित १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजनाका लागि प्रस्ताव दिन र लिनेमाथि संशय व्यक्त गरेका छन् । उनले तनहुँ, चितवन र गोरखा तीन जिल्लासँगै जोडिएको तल्लो त्रिशूली नदीमा प्रस्तावित १०० मेगावाट क्षमताको सुपर त्रिशूली हाइड्रोपावरले त्यहाँको र्याफ्टिङ गतिविधि, पर्यटनजन्य गतिविधि र नदीको इकोसिस्टमलाई खलबल्याउने संशय पैदा गरेको बताएका हुन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद डा. वाग्लेले प्रस्तावित हाइड्रोपावरको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनसमेत राम्ररी नगरिएको सदनलाई जानकारी गराए । आयोजनाको अनुमति माग्ने र अनुमति दिने संस्थाहरू प्रश्नको घेरामा रहेको उनको भनाइ थियो ।
‘पृथ्वी राजमार्गको फिस्लिङ खण्ड जुन अलिकति रणनीतिक र संवेदनशील खण्ड पनि हो । त्यहाँ १०० मेगावाटको सुपर त्रिशूली हाइड्रो पावर प्रस्तावित रहेछ। यसले र्याफ्टिङ गतिविधि,पर्यटनजन्य गतिविधि र नदीको इकोसिस्टमलाई खलबल्याउने संशय उत्पन्न भएको छ। ईआईए पनि राम्ररी नगरिएको गुनासो छ’ उनले भने, ‘आयोजनाको अनुमति माग्ने र अनुमति दिने संस्थाहरू प्रश्नको घेरामा छन् ।’
त्यस्तै, रास्वपाकै सांसद हरि ढकालले कृषकका लागि कृषिमन्त्रीले कुनै काम नगरेको भन्दै आक्रोश पोखे । प्रतिनिधिसभा बैठकमा सांसद ढकालले भने, ‘तपाईं कृषिमन्त्री भएपश्चात् मनलाग्दी नियुक्तिबाहेक कृषि क्षेत्र र किसानका लागि गरेको एउटा राम्रो काम के हो ? सदनमा आएर भनिदिनुहोस् ।’
उनले दूध किसानले भुक्तानी नपाउँदा ‘मिल्क होलिडे’ शुरू गरेको भन्दै सरकार र कृषिमन्त्रीले किसानका समस्या सम्झेर र बुझेर समाधान गर्ने तत्परता देखाउनुपर्नेमा जोड दिए । सरकारले किसानको समस्या नसुने किसानले आन्दोलन गर्ने तयारी गरिरहेको उल्लेख गर्दै उनले सरकारलाई किसानको समस्या समाधानको पहल गर्न ध्यानाकर्षण गराए ।
‘अब यो सरकारका कृषिमन्त्रीलाई बिउँझाउनलाई किसानहरूले पालेका पशुचौपाया सिंहदरबारमा ल्याएर हुल्दिने हो कि बालुवाटार हुल्दिने हो ? नत्र सरकार बिउँझिँदैन’ उनले थपे, ‘किसानले दूध पोखेर गरेको तयारी सांकेतिक आन्दोलन मात्र हो । अब किसानले गोठमा पालेको पशुचौपाया सिंहदरबार र बालुवाटार लगेर हुल्दिन्छन् त्यसका लागि सरकार तयार रहोस् ।’
.gif)

.png)

