‘शव व्यवस्थापन अस्थायी संरक्षण हो, अन्तिम होइन’
डीएनए परीक्षणमा ३० देखि ४५ दिन
नारायणगढ : भोटेकोशी बाढीमा परी मृत्यु भएका र त्रिशूली तथा नारायणी नदी किनारमा फेला परेका शवको व्यवस्थापन अन्तिम संस्कार नभई पहिचान नहुञ्जेलका लागि गरिएको अस्थायी संरक्षण मात्र भएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्पष्ट पारेका छन्।
विपद्का कारण उत्पन्न जटिल परिस्थिति र शवबाट हुन सक्ने स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) तथा सरकारी निर्देशिकाअनुसार शवको अस्थायी व्यवस्थापन गरिएको उनले बताए। जिल्ला प्रशासन कार्यालय चितवनमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रजिअ अर्यालले भने, 'यो दाहसंस्कार होइन, अन्तिम संस्कार होइन। शव पहिचान नहुञ्जेलसम्म सम्मानजनक रूपमा राख्ने अस्थायी संरक्षण प्रणाली हो।'
उनका अनुसार शव खुला ठाउँमा राख्दा कुहिएर दुर्गन्ध फैलिने तथा सम्भावित स्वास्थ्य जोखिम बढ्ने भएकाले कानुनी व्यवस्था र आईसीआरसीको मार्गदर्शनअनुसार अस्थायी व्यवस्थापन गरिएको हो।
चितवनमा २७२ शव
चितवनका अस्पतालमा जम्मा करिब ३० शव राख्न सकिने क्षमता भए पनि हालसम्म २७२ शव ल्याइएपछि अन्य विकल्प नभएको अवस्थामा अस्थायी रूपमा गाड्ने निर्णय गरिएको अर्यालले बताए। उनका अनुसार तीमध्ये १० शव आफन्तले जिम्मा लिइसकेका छन् भने बाँकी शवको अस्थायी व्यवस्थापन गरिएको छ।
प्रत्येक शवको फोटो, ट्याग नम्बर र डीएनए नमुना सुरक्षित राखिएको उनले बताए। भविष्यमा आफन्त सम्पर्कमा आएर पहिचान पुष्टि भएमा शव उत्खनन गरी अन्तिम संस्कारका लागि हस्तान्तरण गर्न सकिने व्यवस्था मिलाइएको उनको भनाइ छ। 'यदि कुनै आफन्त आएर फोटो र ट्यागका आधारमा डीएनए परीक्षण गराउन चाहनुहुन्छ र परीक्षणबाट पहिचान पुष्टि हुन्छ भने कोड नम्बरका आधारमा शव उत्खनन गरी उहाँहरूलाई अन्तिम संस्कारका लागि हस्तान्तरण गर्नेछौँ,' अर्यालले भने।
शव सड्न थालेपछि अस्थायी व्यवस्थापन
प्रजिअ अर्यालका अनुसार शव राख्न अस्थायी होल्डिङ सेन्टर निर्माण गर्नुका साथै एसी र कम्प्रेसर जडान गर्ने प्रयास गरिएको थियो। तर निरन्तर देखिएका प्राविधिक समस्या र गर्मीका कारण शव सड्न थालेपछि अस्थायी रूपमा गाड्ने विकल्प अपनाउनुपरेको हो।
उनले यो विकल्प रोजाइ नभई परिस्थितिजन्य बाध्यताका कारण अपनाइएको बताए। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले अस्पतालको क्षमताभन्दा धेरै शव ल्याइएपछि फोरेन्सिक परीक्षण तथा डीएनए नमुना सङ्कलनमा चुनौती थपिएको बताए।
अत्यधिक गर्मीका कारण शव छिटो कुहिन थालेपछि विशेषज्ञ चिकित्सकको टोली परिचालन गरेर तीव्र गतिमा अभिलेखीकरण र फोरेन्सिक प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।
शवबाट महामारी फैलिने जोखिमबारे स्पष्ट पार्दै डा. बगालेले भने, 'शव परीक्षण गरिएका ठाउँबाट सिधैँ महामारी फैलिने जोखिम रहँदैन।' उनका अनुसार सरसफाइका क्रममा निस्कने तरल पदार्थ पानीका मुहानमा नमिसियोस् भनेर छुट्टै खाल्डो खनेर सुरक्षित व्यवस्थापन गरिएको छ। अस्पताल परिसरमा नियमित रूपमा संक्रमणनाशक औषधि छर्किने व्यवस्था गरिएको उनले बताए।
२४ फ्रिजर, सयौँ शव
डा. बगालेका अनुसार भरतपुर अस्पतालमा शव राख्नका लागि २४ वटा नियमित फ्रिजर छन्। सामान्य अवस्थामा ती फ्रिजरमा दुईदेखि पाँचवटासम्म बेवारिसे वा दुर्घटनामा मृत्यु भएका व्यक्तिका शव राखिने गर्छन्।
तर भोटेकोशी बाढीपछि एकैपटक ठूलो संख्यामा शव आएपछि व्यवस्थापनमा कठिनाइ भएको उनले बताए। भदौ १० गते साँझ मात्रै २२ वटा शव अस्पतालमा ल्याइएको र पहिलो दिन फ्रिजर, कोरिडोर तथा त्रिपालमुनि राखेर फोरेन्सिक प्रक्रिया पूरा गरिएको उनले जानकारी दिए।
डीएनए परीक्षणमा ३० देखि ४५ दिन
सङ्कलित डीएनए नमुना अस्पतालमै परीक्षण नहुने डा. बगालेले बताए। उनका अनुसार नेपाल प्रहरीको समन्वयमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षण गरिन्छ। नेपालमा सामान्यतया डीएनए परीक्षणको रिपोर्ट आउन ३० देखि ४५ दिनसम्म लाग्ने भएकाले त्यति लामो समयसम्म ठूलो संख्यामा शव अस्पतालमै राखिरहन सम्भव नभएको उनले बताए।
डीएनए पहिचानको मुख्य आधार
अस्पतालका फोरेन्सिक विज्ञ डा. सुरज शर्माले समय बित्दै जाँदा शव अत्यधिक कुहिने भएकाले औँठाछापसमेत लिन नसकिने अवस्था आउने बताए। त्यसैले डीएनए नमुना सङ्कलनलाई शव पहिचानको मुख्य आधार बनाइएको उनले जानकारी दिए।
उनका अनुसार दाँत तथा शरीरका लामो हड्डीबाट डीएनए नमुना सङ्कलन गरी नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने गरिएको छ। शव पहिचानका लागि उचाइ, पहिरन, कोठी, शरीरमा रहेका विशेष चिह्नलगायतका विवरणसमेत अभिलेखमा राखिएको उनले बताए।
पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी वैज्ञानिक विधिअनुसार चितवनको भरतपुर–१ स्थित देवघाटको जङ्गल क्षेत्रमा अस्थायी रूपमा सुरक्षित व्यवस्थापन गरिएको डा. शर्माले जानकारी दिए। उनका अनुसार शव कुहिएर दुर्गन्ध फैलिने अवस्था भए पनि वैज्ञानिक विधिअनुसार गरिएको हालको व्यवस्थापनका कारण अस्पताल तथा आसपासका क्षेत्रमा सङ्क्रमण वा महामारी फैलिने जोखिम नरहेको जनाइएको छ।
.gif)

.png)

