भोटेकोशीमा बाढीको जोखिम कायमै, माथिल्लो क्षेत्रमा बनेको ताल फुट्न सक्ने चेतावनी

भोटेकोशीमा बाढीको जोखिम कायमै, आज भारी वर्षाको पनि पूर्वानुमान


२०८३ भदौ १३ शनिबार ०९:१४ बजे

काठमाडौं :  रसुवाको भोटेकोशी क्षेत्रमा बाढीको जोखिम अझै कायमै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार भोटेकोशी र त्रिशूली नदीमा हाल जलसतह सामान्य रहे पनि माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल फुट्ने जोखिम रहेको छ।

महाशाखाका बाढीविद् विनोद पराजुलीले चीन सरकारबाट प्राप्त सूचना तथा भू–उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषणका आधारमा भदौ १० गते बाढी आएको क्षेत्रमा नदी थुनिएर बनेको तालको आकार बढ्दै गएको जानकारी दिए।

उनका अनुसार उक्त ताल फुटेमा पानीसँगै ढुङ्गा, माटो तथा गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने जोखिम छ। 'नदी थुनिएर बनेको ताल बढ्दै गएको र फुट्ने जोखिम देखिएको छ। ताल फुटेमा फेरि पानीसँगै ढुङ्गा, माटो तथा गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने जोखिम छ,' पराजुलीले भने।

भदौ १० गते भोटेकोशीमा बाढी आएपछि हाल नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए। 'भोटेकोशी र त्रिशूली नदीको बहाव अहिले सतर्कता तहभन्दा तल छ। तर जोखिम कायमै रहेकाले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीको खतरा बढेमा पूर्वसूचना जारी गर्नेछौँ,' उनले भने।

महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारमा खटिएका व्यक्तिलाई नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। महाशाखाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनारमा अनावश्यक आवतजावत नगर्न, पूर्वसूचनामा ध्यान दिन तथा स्थानीय प्रशासनले जारी गर्ने निर्देशन पालना गर्नसमेत आग्रह गरेको छ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज वर्षाको जोखिम

जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज वर्षाको जोखिम रहेको जनाएको छ। केही स्थानमा भारी वर्षा हुनसक्ने भएकाले जारी खोज तथा उद्धार अभियान प्रभावित हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अधिकांश स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिए। “एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले खोज तथा उद्धार प्रभावित हुन सक्छ। त्यसैले सतर्कता आवश्यक छ,” दाहालले राससलाई भने।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै तथा मधेस र कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णालीको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थान तथा अन्य केही हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। भोटेकोशी क्षेत्रमा यसअघि नै बाढीको जोखिम कायमै रहेको अवस्थामा वर्षासमेत थपिन सक्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिक र खोज तथा उद्धारमा खटिएका टोलीलाई थप सतर्क रहन आग्रह गरिएको छ।

 

 

 

 

 

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७