भोटेकोशीमा पानीको बहाव सामान्य
तर जोखिम कायमै
काठमाडौं : रसुवाको भोटेकोशी र नुवाकोट हुँदै बग्ने त्रिशूली नदीमा शनिबार बिहान पानीको बहाव सामान्य रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार बिहान ६ः१० बजेसम्म यी नदीमा पानीको बहावमा ठूलो उतारचढाव नदेखिएको महाशाखाका एसिस्टेन्ट हाइड्रोलोजिस्ट प्रभाकर यादवले जानकारी दिए।
‘भोटेकोशी र त्यसभन्दा तलको नदीमा पानीको बहाव सामान्य देखिएको छ,’ उनले भने, ‘पानीको सतह तीव्र रूपमा वृद्धि भएको देखिएको छैन।’ चीनको तिब्बततर्फ यसअघि भीषण बाढी आएको स्थानको पछिल्लो अवस्थाबारे थप जानकारी प्राप्त नभएको यादवले बताए।
यही भदौ १० गते तिब्बततर्फबाट ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा प्रवेश गरेको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधन तथा भौतिक क्षति पुर्याएको छ। बाढीको प्रभाव त्रिशूली हुँदै तल्लो तटीय क्षेत्रमा समेत परेको थियो।
यसैबीच, बाढी उत्पन्न भएको तिब्बततर्फको क्षेत्रमा नदी थुनिएर अस्थायी ताल बनेको जनाइएको छ। उक्त ताल फुटेमा पुनः ठूलो मात्रामा पानीको बहाव नेपालतर्फ आउन सक्ने जोखिम रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने अवस्था रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
बाढी पूर्वानुमान महाशाखाले पनि भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीको निरन्तर अनुगमन आवश्यक रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै आएको छ।
यसअघि आएको बाढीका कारण भोटेकोशीदेखि त्रिशूली हुँदै तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भइसकेकाले अहिले नदीको बहाव सामान्य भए पनि सम्भावित जोखिमलाई बेवास्ता नगर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।
.gif)

.png)

