बाढीपछि ठप्प सञ्चार: हेलिकप्टरबाट इन्धन र जेनेरेटर पुर्याएर धमाधम टावर सञ्चालन
हुवावेले पनि सम्हाल्यो प्रभावित नेटवर्क
काठमाडौं : गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्यायो। बाढीले सडक, पुल, विद्युत् तथा दूरसञ्चार पूर्वाधारमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रका हजारौँ नागरिक एकाएक सञ्चार सम्पर्कबाट समेत टाढिए।
विपद्का बेला सूचना नै जीवनरक्षाको महत्वपूर्ण माध्यम बन्ने भए पनि बाढी आएलगत्तै सञ्चार सेवा अवरुद्ध हुँदा प्रभावित क्षेत्रका नागरिकले समयमै सही सूचना पाउन सकेनन्। उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिन खोजिरहेका आफन्तसमेत अन्योलमा परे।
त्यसमाथि सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै सार्वजनिक भएका बाढीका भयावह तस्बिर र भिडियोले आम मानिसमा त्रास र चिन्ता झनै बढायो। छोटो समयमै लाखौँ मानिस प्रभावित भएपछि सरकारले खोज तथा उद्धारलाई तीव्रता दिँदै गर्दा सञ्चार सेवा पुनःस्थापना पनि अर्को महत्वपूर्ण चुनौतीका रूपमा खडा भयो।
यही अवस्थालाई ध्यानमा राख्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बाढी आएको दिनदेखि नै दूरसञ्चार सेवा पुनःस्थापनाको काम अघि बढाएको थियो।
मन्त्रालयका समन्वय, कार्यान्वयन तथा अनुगमन अधिकृत किरण घिमिरेका अनुसार नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, एनसेल तथा सशस्त्र प्रहरीको समन्वयमा तत्कालै प्राविधिक टोली परिचालन गरिएको थियो।
‘हामीले बाढी आएको दिन दिउँसो २ बजेदेखि नै सञ्चार पुनःस्थापनाका लागि काम गरिसकेका थियौँ। सोही दिन प्रभावित क्षेत्रमै पुगेर अनुगमन गरी कसरी काम गर्ने भन्ने योजना बनाएका थियौँ,’ उनले भने।
६५ टावर एकैपटक प्रभावित
रसुवा, नुवाकोट र धादिङमा नेपाल टेलिकम (एनटिसी) का १२० तथा एनसेलका ७८ वटा बिटिएस टावर सञ्चालनमा थिए। बाढीका कारण एनटिसीका ३८ र एनसेलका २७ गरी कुल ६५ वटा बिटिएस टावरको सेवा अवरुद्ध भएको थियो।
कतिपय स्थानमा टावरमै भौतिक क्षति पुगेको थियो भने कतिपय ठाउँमा विद्युत् आपूर्ति बन्द हुँदा टावर सञ्चालन गर्न नसकिने अवस्था बनेको थियो।
बाढीका कारण सडकमार्गसमेत अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा आवश्यक इन्धन, जेनेरेटर, सोलार प्यानल तथा अन्य उपकरण पुर्याउनु अर्को चुनौती बन्यो। त्यसपछि सरकारले हेलिकप्टर तथा उपलब्ध सडकमार्ग प्रयोग गरी आवश्यक सामग्री प्रभावित क्षेत्रसम्म पुर्याउन थालेको थियो।
विद्युत् आपूर्ति अवरुद्ध भएका साइटमा जेनेरेटर सञ्चालन गर्न इन्धनसमेत हेलिकप्टरमार्फत पुर्याइएको थियो।
ब्याट्री ब्याकअपदेखि माइक्रोवेभ लिंकसम्म
नेपाल टेलिकमका अनुसार बाढीबाट प्रभावित क्षेत्रमा उसका कुल १२० वटा टावर थिए। तीमध्ये अधिकांश साइटमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो।
बाढीपछि सुरुमा करिब आठ घण्टासम्म ब्याट्री ब्याकअपबाट सेवा सञ्चालन गरिएको थियो। त्यसपछि प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत जेनेरेटर र इन्धन पुर्याइएको थियो।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीका अनुसार केही टावर बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बाँकी टावर सञ्चालनमा ल्याउन विद्युत् आपूर्ति र इन्धन व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।
‘बाढीका कारण गल्छीदेखि नुवाकोटसम्मको फाइबर लिंक पूर्ण रूपमा अवरुद्ध भएको थियो। फाइबर क्षतिग्रस्त भएपछि ककनीतर्फको आरएएस फाइबरलाई ब्याकअपका रूपमा प्रयोग गरिएको र माइक्रोवेभ लिंक प्रयोग गरेर प्रभावित क्षेत्रका साइटहरू सञ्चालनमा ल्याइएको हो,’ उनले भनिन्।
सडकमार्गबाट समेत त्रिशूलीसम्म जेनेरेटर र इन्धन पुर्याइएको टेलिकमले जनाएको छ। प्रभावित क्षेत्रमा खटिएका कर्मचारीलाई आवतजावत गर्न सहज वातावरण तथा आवश्यक इन्धन र अन्य सहयोग उपलब्ध भए बाँकी साइटहरू पनि चाँडै सञ्चालनमा ल्याउन सकिने टेलिकमको भनाइ छ।
नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा रहेका करिब १ लाख ६० हजार नागरिकका लागि बुधबारदेखि दुई दिन निःशुल्क डाटा, एसएमएस र भ्वाइस सेवा उपलब्ध गराएको थियो। उक्त सुविधा पाँच दिनसम्मका लागि विस्तार गरिएको टेलिकमले जनाएको छ।
एनसेलका २७ बिटिएस प्रभावित
एनसेलका नेटवर्क प्रमुख लीना केशरी कंशाकारका अनुसार बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा कम्पनीको दूरसञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेको थियो।
रसुवादेखि करिब ७०–८० किलोमिटर क्षेत्रमा विभिन्न स्थानमा फाइबर काटिनुका साथै बगाएपछि एनसेलका २७ वटा बिटिएस साइट प्रभावित भएका थिए।
त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायको सहयोगमा प्राविधिक टोली परिचालन गरी सेवा पुनःस्थापनाको काम सुरु गरिएको एनसेलले जनाएको छ।
अवरुद्ध भएका २७ बिटिएसमध्ये १८ वटा सञ्चालनमा ल्याइसकिएको र नौ वटा सञ्चालनमा आउन बाँकी रहेको कम्पनीले जनाएको छ।
फाइबरमार्फत सेवा पुनःस्थापना गर्न सम्भव नभएका स्थानमा पुराना माइक्रोवेभ लिंक प्रयोग गरेर टावर सञ्चालनमा ल्याइएको एनसेलको भनाइ छ।
विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा जेनेरेटर सञ्चालनका लागि आवश्यक इन्धनसमेत हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्याइएको कम्पनीले जनाएको छ।
एनसेलले बाढी प्रभावित नागरिकका लागि थप सात दिन निःशुल्क भ्वाइस, एसएमएस र डेटा सेवा उपलब्ध गराउने घोषणा गरेको छ।
‘हाम्रो यो योगदानले प्रभावित समुदायलाई यो विपद्का बेलामा आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज हुने विश्वास लिएका छौँ। यस कठिन समयमा आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु हामी सबैको जिम्मेवारी हो,’ एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने। यसअघि एनसेलले तीन दिनका लागि निःशुल्क भ्वाइस, एसएमएस र डेटा सेवा घोषणा गरेको थियो।
हुवावेले पनि सम्हाल्यो प्रभावित नेटवर्क
दूरसञ्चार पूर्वाधार पुनःस्थापनामा प्रविधि सेवा प्रदायक कम्पनी हुवावे नेपाल पनि परिचालित भएको थियो। हुवावे नेपालका अनुसार कम्पनीले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा १० वटा महत्वपूर्ण हब साइटसहित कुल ७० वटा साइट पुनः सञ्चालनमा ल्याएको छ।
कम्पनीका अनुसार दुई वटा महत्वपूर्ण फाइबर लिंक र दुई वटा प्रमुख हब साइटको पुनःस्थापनापछि थप २९ वटा साइटसमेत सञ्चालनमा आएका छन्। हुवावेले प्रभावित क्षेत्रमा रेडियो, माइक्रोवेभ तथा फाइबर कनेक्टिभिटीका लागि साइट र ट्रान्समिसन लिंक सुधारमा काम गरेको जनाएको छ।
त्यसका साथै इन्धन, जनशक्ति, उपकरण तथा सामग्री परिचालन, लजिस्टिक्स र फिल्ड सहयोगलाई तीव्रता दिइएको कम्पनीले जनाएको छ। दुर्गम तथा बाढी प्रभावित क्षेत्रमा आवश्यक परेको अवस्थामा हेलिकप्टरको सहयोगसमेत लिइएको हुवावे नेपालको भनाइ छ।
बाढीले सडक र विद्युत् पूर्वाधारसँगै दूरसञ्चार संरचनामा समेत ठूलो क्षति पुर्याएपछि सेवा पुनःस्थापनाका लागि सरकारी निकाय र निजी क्षेत्रका दूरसञ्चार कम्पनीबीच समन्वय आवश्यक बनेको थियो।
एनसेलले नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, नेपाली सेना तथा हुवावेलगायतका संस्थाबाट नेटवर्क पुनःस्थापनामा सहयोग प्राप्त भएको जनाएको छ।
बाढीपछि प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क कायम गर्नु केवल नागरिकलाई फोन वा इन्टरनेट उपलब्ध गराउने विषय मात्र थिएन। उद्धारमा खटिएका सुरक्षाकर्मी, स्थानीय प्रशासन, स्वास्थ्यकर्मी तथा राहत टोलीबीच समन्वयका लागि समेत सञ्चार सेवा अत्यावश्यक थियो।
त्यसैले बाढीपछि सडक खुल्नुअघि नै टावर सञ्चालन गर्नुपर्ने अवस्था आयो। जहाँ फाइबर पुगेन, त्यहाँ माइक्रोवेभ लिंक प्रयोग गरियो। जहाँ विद्युत् पुगेन, त्यहाँ जेनेरेटर पुर्याइयो। र जहाँ सडकमार्गबाट सामग्री लैजान सम्भव भएन, त्यहाँ हेलिकप्टर प्रयोग गरियो।
यसरी बाढीपछि ठप्प बनेको सञ्चार सञ्जाललाई पुनः सञ्चालनमा ल्याउन प्रविधि, जनशक्ति, इन्धन र हवाई उद्धार क्षमताको समेत एकीकृत प्रयोग गरिएको छ।
यद्यपि केही टावर अझै सञ्चालनमा आउन बाँकी रहेकाले प्रभावित क्षेत्रमा पूर्ण रूपमा सञ्चार सेवा सामान्य अवस्थामा फर्काउन केही समय लाग्ने देखिएको छ।
.gif)

.png)

