रवि लामिछानेलाई पक्राउ गर्ने ‘तयारी’ 


२०८१ कार्तिक २ शुक्रबार १६:०७ बजे

काठमाडौं  : प्रहरीले सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउको तयारी गरेको छ।विभिन्न सहकारी संस्थाको रकम हिनामिना विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनका आधारमा सरकारको निर्देशनमा प्रहरीले पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई अनुसन्धानका लागि पक्राउ तयारी गरेको हो। 

काठमाडौंमा रहेका लामिछानेलाई कास्की प्रहरीको आग्रहमा पक्राउ तयारी गरिएको हो। स्रोतका अनुसार लामिछानेलाई पक्राउ गर्नका लागि प्रहरी तयारी अवस्थामा राखिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि शुक्रबार प्रतिपक्षी दलहरूको बैठकमा रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्न लागिएकोबारे आफूले सूचना पाएको बताएका थिए । उनले तीन दलको बिहीबार भएको बैठकको कुराकानीबाट त्यस्तो आशय पाएको उल्लेख गरेको एक नेताले बताए ।

सहकारीबाट ६५ करोड ५४ लाख रूपैयाँ गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरिएको छ। संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा सहकारीबाट लिएको रकम दुरूपयोगमा लामिछानेलाई कारबाही सिफारिस गरिएको छ।

सांसद सूर्य थापाको नेतृत्वमा बनेको छानबिन समितिले गोर्खा मिडिया नेटवर्कका नाममा ग्लोबल आइएमई बैंकमा रहेको खाता नम्बर ०४०१०१००००५७७ मा नाममा सहकारीको रकम लगिएको उल्लेख गरेकाे छ । 

मन्त्रिपरिषद्को बैठकले छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो। सोहीअनुरूप गृहमन्त्री लेखकले प्रहरी प्रधान कार्यालयलाई तत्काल कदम चाल्न निर्देशन दिएका थिए।  

‘सूर्यदर्शन, सुप्रिम, सहारा, स्वर्णलक्ष्मी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५३८ रूपैयाँ गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको देखिन्छ। जसमध्ये २२ करोड ४६ लाख ३० हजार रूपैयाँ सहकारी संस्थाबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिन्छ भने ४३ करोड ७ लाख ७४ हजार ५३८ रूपैयाँ अन्य व्यक्ति तथा संस्थाका नामबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिन्छ ,’ प्रतिवेदनमा लेखिएको छ। थापा नेतृत्वको प्रतिवेदन सार्वजनिक भएपछि रास्वपाले सभापति लामिछानेबारे कुनै पनि धारणा सार्वजनिक गरेको छैन।

पोखराको सूर्यदर्शन, चितवनको साहरा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा लगानी गरिएको थियो। सो रकम सहकारीमा फर्केको छैन। सहकारीको रकम कम्पनीमा ल्याउन झुटा कागजपत्र बनाएर कम्पनीको सेयर लेनदेन गरिएको थियो।  

लामिछाने र उनी संलग्न रहेको कम्पनीले राजस्व छली गर्नेदेखि सहकारीको रकम ससुरालीको कम्पनीलाई अनधिकृतरूपमा भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ। छानबिन समितिको प्रतिवेदनमा गोर्खा मिडियाको शेयर खरिदबिक्रीमा लामिछानेले राजस्वसमेत छली गरेको र ससुरा उद्धव पौडेलको नाममा रहेको गोपिकृष्ण मुभिजलाई पेस्की रकम दिएको उल्लेख छ।

छानबिन प्रतिवेदनमा सहकारीकै रकम नै गोर्खा मिडिया नेटवर्क खोल्ने आधार बनेको उल्लेख छ। ‘सञ्चालकद्वय लामिछाने र जोशी कम्पनीमा जिम्मेवार पदाधिकारी रहुन्जेल निजहरूले सहकारीबाट आएको रकम खर्च वा परिचालन गरेबापत सिर्जना हुने उत्तरदायित्व बहन गर्नुपर्ने देखिन्छ,’ प्रतिवेदनमा लेखिएको छ।

प्रतिवेदमा सहकारी ठगी प्रकरणका आरोपी गोरखा मिडियाका सञ्चालक जोशीसहित कार्यकारी अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुनेगरी अनुसन्धान गर्न सिफारिस गरिएको छ। प्रतिवेदनको परिच्छेद ८ मा सहकारी ठगी प्रकरणमा सहकारी ऐन २०७४, मुलुकी अपराध संहिताको किर्तेसम्बन्धी दफा, संगठित अपराध निवारण ऐन २०७० र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४ का कानुन आकर्षित हुने उल्लेख छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७