छवि र रविलाई बयानका लागि पाँच जिल्ला पुर्‍याइँदै 

छविलाल जोशीसँग भैरहवामा १३ घण्टा बयान, ५७ वटा प्रश्न


२०८१ कार्तिक ६ मंगलबार २२:१३ बजे

काठमाडौं । पोखरामा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले पार्टी सभापति रवि लामिछाने बुधबार छुट्ने बताइरहेका बेला प्रहरीले भने उनीमाथिको अनुसन्धानलाई थप फराकिलो बनाउँदै लगेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई सोमबार नै रुपन्देही लगिसकिएको  छ ।  

असोज ६ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएका जोशीलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणबारे बयान लिन रुपन्देही लगिएको हो । जोशीसँगै कात्तिक २ गते सोही सहकारी ठगी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समेत सूर्यदर्शन सहकारी ठगीबारे बयान सकिएपछि रुपेन्देही लगिने भएको छ । 

सूर्यदर्शनसहित विभिन्न पाँच सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा रकम आएको खुलेको हुँदा सहकारी रहेका जिल्लाहरुमा छवि र रवि दुबैलाई लैजाने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । रुपेन्दीसँगै उनीहरुलाई वीरगञ्ज, चितवन, काठमाडौं समेत ल्याइने छ ।

वीरगञ्जको सानोपाइला सहकारी, चितवनको साहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा अवैध तरिकाले रकम आएको खुलेको थियो । जोशी ग्यालेक्सी टेलिभिजनका पूर्व सञ्चालक र रवि प्रबन्ध निर्देशक हुन् । गोर्खा मिडियाका अध्यक्ष जीबी राई भने फरार छन् । संसद्को सहकारी ठगी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय छानबिन समितिले जीबी राईले स्थापना गरेको पाँच सहकारीमार्फत ६५ करोड रकम अवैध तरिकाले आएको खुलाएको थियो । 

छविलाल जोशीसँग भैरहवामा १३ घण्टा बयान, ५७ वटा प्रश्न

बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा ल्याइएको विषयमा नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसँगको सोमबार र मंगलबार १३ घण्टा बयान लिइएको छ । पोखराको सूर्य दर्शन सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धानका क्रममा पोखरा प्रहरी हिरासतमा रहेका जोशीलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले सोमबार बुटवल ल्याएको हो ।

सोमबार ५ र मंगलबार ८ गरी १३ घण्टा जोशीसँग बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय भैरहवाका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिएका छन् ।  जोशीलाई अनुसन्धानका क्रममा ५७ वटा प्रश्न सोधिएको बताइएको छ । पौडेलले भने, ‘उहाँबाट प्राप्त उत्तरलाई अनुसन्धान प्रतिवेदनमा समावेश गर्नेछौं ।’ बुटवलको सुप्रिम सहकारीबाट जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ गएको देखिएको छ । त्यस्तै गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रवि लामिछानेका नाममा २ करोड रकम गएको अनुसन्धानमा देखिएको छ ।

जोशी, लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिमका १० हजार ३ सय ९१ बचतकर्ताको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम ट्रान्सफर भएको छ । प्रहरीले यसअघि गरेको छानबिनमा जोशी, राई, सुप्रिमका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । तीमध्ये गुरुङ पुर्पक्षका लागि कारागार चलान भएका छन् । सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा छुटेका छन् । पूर्व अध्यक्ष राईसहित अन्य व्यक्ति फरार छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७