नेपाली शान्ति सेना गोली हानाहान भइरहेको क्षेत्रमा भए पनि सुरक्षित नै छन् : प्रधानसेनापति

‘इजरायल–लेबनानबाट आपतकालीन उद्धारका लागि पनि योजना बन्दैछ’


२०८१ कार्तिक ६ मंगलबार ००:२९ बजे

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले इजरायल र लेबनानमा रहेका नेपाली शान्ति सैनिकको आपतकालीन उद्धारका लागि योजना बनाइरहेको बताएका छन् । रक्षा मन्त्रालयमा मंगलबार भएको पत्रकार सम्मेलनका क्रममा उनले सिरिया र लेबनानमा अहिले युद्ध चर्किरहेको र त्यहाँ नेपाली शान्ति सेना अवस्थित रहेको भन्दै उनीहरुलाई आपतकालीन उद्धार आवश्यक भए उद्धारका लागि आपतकालीन योजना नेपाली सेना र रक्षा मन्त्रालयको समन्वयमा बनाइरहेको बताएका हुन् । 

उनले इजरायल र लेबनानमा अहिले चरमपन्थी समूह हिजबुल्लाहबीच युद्ध जारी छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसन (युनिफिल) अन्तर्गत लेबनानमा खटिएका नेपाली शान्ति सैनिक केही असहज अवस्थामा रहे पनि सुरक्षित रहेको बताए । ‘५२ जना सिरियामा छन् । १,३२९ जनाको फौज शान्ति सेनामध्ये अहिले अलिकति अफ्ठ्यारो स्थितिमा रहेका सैनिकहरु भनेको केही मात्रै छन्’, उनले भने, ‘उनीहरुको सुरक्षाको दृष्टिकोणले लडाईं भइरहेको ठाउँ हो‚ उनीहरु द्वन्द्वको बीचमा छन्‚ गोली हानाहान भइरहेको क्षेत्रमा छन् तर त्यो असहज स्थितिमा पनि उनीहरु पूर्णतया सुरक्षित छन् । हामी त्यहाँ रहेका नेपाली सेनासँग प्रत्यक्ष सम्पर्कमा छौं ।’

उनले शान्ति सेनामा रहेका नेपाली सैनिकलाई अफ्ठ्यारो पार्ने सम्भावना भने कम रहेको दावी गरेका छन् । प्रधानसेनापति सिग्देलले इजरायल र लेबनानको सीमा क्षेत्रमा खटिएका शान्ति सैनिकलाई फिर्ता गरिहाल्नु पर्ने अवस्था नरहेको बताएका छन् । उनले अहिले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका ८७७ नेपाली सैनिक बंकरमा पूर्णतः सुरक्षित रहेको बताए । इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानको इस्लामिक विद्रोही संगठन हिजबुल्लाहमाथि १५ असोजदेखि स्थल कारबाही समेत थालेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहूले आइतबार संयुक्त राष्ट्रसंघीय मिसनलाई दक्षिण लेबनानबाट हटाउन समेत चेतावनी दिए । तर राष्ट्रसंघले शान्ति स्थापनाका लागि खटिएको सैनिक फिर्ता नहुने जवाफ दिएको छ । यही कारण सो क्षेत्रमा तनाव बढेको छ । नेपाली शान्ति सैनिकहरु गोली हानाहान भइरहेकै स्थानमा रहे पनि दुवै पक्षले शान्ति सैनिकलाई लक्षित गरेर कुनै कारबाही नगरेको प्रधानसेनापति सिग्देलले जिकिर गरेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७