यस्ता छन् सरकारका १०० दिनका उपलब्धि (पूर्णपाठ)

‘सहकारी ठगहरुलाई कानुनको दायरामा ल्याइँदैछ, ५७५ जना जेलमै छन्’


२०८१ कार्तिक ७ बुधबार ०४:१५ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिनमा गरेको काम कारवाहीको फेहरिस्त सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले  १०० दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्य र हासिल भएका मुख्य उपलब्धिहरूको विवरण आज (बुधबार) सार्वजनिक गरेका हुन् । 

प्रधानमन्त्री ओलीले १०० दिनमा ७० प्रतिशत काम गरेको दाबी गरेका छन् । उनले साउन ६ गते संसद्मा विश्वासको मत लिँदा सरकारका पाँच प्राथमिकता प्रस्तुत गरेको बताए । ‘पहिलो १०० दिनभित्र सबै मन्त्रालयले गर्ने भनेको कामको संख्या २७४ वटा पुग्यो । तीमध्ये १८५ वटा काम सम्पन्न भएका छन् । अर्थात्, यस सरकारले आफूले सक्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ’, उनले भने ।

उनले प्रकृति प्रतिकूल नभएको भए बाँकी ३० प्रतिशत काम पनि हुने सुनाए । अर्को प्रसङ्गमा ओलीले सहकारी ठगविरुद्धको कारबाही अघि बढेको बताए । ओलीले ६०० सहकारी ठगविरुद्धको कारबाही अघि बढेको बताए । ‘सहकारीमा ठगीमा संलग्न जो कसैलाई कारबाही गर्छौं भनेका थियौँ । अहिले सहकारी ठगहरूलाई कारबाही प्रक्रिया अघि बढेको छ’, ओलीले भने, ‘६०० बढीलाई कारबाही प्रक्रिया अघि बढाएकामा ५७५ जना थुनामा छन् ।’

उनले सहकारी ठगलाई कारबाहीमात्रले सरकारको दायित्व पूरा नहुने भएकाले बचतकर्ताको रकम पनि फिर्ता गराउने आश्वासन दिए । उपलब्धिमा उनले भर्खरैको बाढी पहिरोबाट क्षति भएका संरचनाको पुनर्निर्माण, राहत वितरण, जाजरकोट र रुकुममा भूकम्पपछिका पुनर्निर्माणलगायत विषयलाई समेटेका छन् । रासायनिक मलको बन्दोबस्ती, निर्माण व्यवसायीलाई ६ अर्ब ७५ करोड उपलब्ध गराइएको, १६५ जना युवालाई कर्जा प्रवाह गरेको, सहकारी ठगलाई कारवाही सुरु गरिएको, बंगलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्न गरिएको सम्झौता, संविधान दिवसका दिन दरबार मार्गमा मनाइएको नेसनल डे कन्सर्टलाई प्रधानमन्त्री ओलीले आफ्नो १०० दिनको उपलब्धिका रुपमा सार्वजनिक गरेका छन् । 

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा राष्ट्रियतालाई थप मजबुत बनाउने, मुलुकलाई प्रतिगमनमा जानबाट रोक्ने, शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्‍याउने बताए ।  ओली गत असार ३० गते चौंथो पटक प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री ओलीले असार ३१ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । नेपाली कांग्रेसको समर्थनमा संविधानको धारा ७६ को उपधारा २ अनुसार ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।

गत असार १७  गते कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्नेलगायत विषयमा सहमति भएको थियो।त्यसपछि एमाले र जनता समाजवादी पार्टीले प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।अल्पमतमा परेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएपछि उनी पदमुक्त भएका थिए । 
पूर्णपाठ


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७