भारतलाई हराउँदै बंगलादेश सेमिफाइनलमा


२०८१ कार्तिक ७ बुधबार ०४:२२ बजे

काठमाडौं । साविक विजेता बंगलादेशले साफ वुमेन्स च्याम्पियनसिप २०२४ को समूह ‘ए’ विजेता हुँदै बुधबार सेमिफाइनल यात्रा तय गरेको छ । बंगलादेशले दशरथ रंगशालामा भएको समूहको अन्तिम लिग खेलमा भारतमाथि ३–१ को शानदार जित निकालेको हो ।

बंगलादेशको चार अंक भएको छ । भारत तीन अंकका साथ दोस्रो स्थानमा रह्यो । भारत यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । यससँगै पाकिस्तान भने प्रतियोगिताबाटै बाहिरिएको छ । बंगलादेशसँग यसअघि बराबरी खेलेको पाकिस्तान एक अंकमै सीमित रह्यो ।

पाकिस्तानविरुद्ध फितलो देखिएको बंगलादेशले भारतविरुद्ध भने छरितो, आक्रामक र सटिक खेल प्रस्तुत गर्न सफल रह्यो । यो जितसँगै बंगलादेशले उपाधिमाथि आफ्नो बलियो दाबेदारी पनि प्रस्तुत गरेको छ । खेलका चारै गोल पहिलो हाफमा सम्भव भएका थिए । बंगलादेशले सुरुमै तीन गोलको अग्रता लिएको थियो । त्यसमध्ये तोहरा खातुनले दुई गोल गरिन् भने अर्को गोल अफिदा खन्डाकेरका नाममा रह्यो ।

अफिदाले नै १८ औं मिनेटमा चलाखीपूर्ण गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । उनको यो डेब्यु गोलसमेत हो । खेलको २९ औं मिनेटमा तोहराले दोस्रो गोल थपिन् । उनैले ४३ औं मिनेटमा तेस्रो गोल गरिन् । यो गोल प्राविधिक रूपमा उत्कृष्ट रह्यो । भारतका तर्फबाट बालादेवीले एक गोल फर्काइन् । भारतका लागि यो उनको ५१ औं गोल हो । बंगलादेशले सन् २०२२ मा पनि लिग चरणमा भारतलाई हराएको थियो । भारतमाथि बंगलादेशको अहिलेको जित दोस्रो मात्रै हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७