पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाइ


२०८१ कार्तिक ७ बुधबार ०४:१५ बजे

म्याग्दी । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेको थोराङमा सरसफाइ गरिएको छ ।वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला प्रहरी कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको समन्वयमा समुन्द्री सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाईमा रहेको थोराङमा सरसफाइ गरिएको हो ।

वारागुङ मुक्तिक्षेत्र गाउँ कार्यपालिकाका प्रवत्ता प्रमेश गुरुङले मुक्तिनाथदेखि थोराङ फेदीदेखि थोराङ पाससम्म पदयात्रीहरूले फालेका फोहर सङ्कलन र व्यवस्थापन गरिएको जानकारी दिए । ‘पदयात्रीहरूको आकर्षण बढेको थोराङको आश्रयस्थलहरूमा थुप्रिएको पलास्टिक, सिसाजन्य फोहरका कारण प्रदूषण बढेपछि सरसफाइ गरिएको हो’, उनले भने, ‘कुहिने फोहरलाई खाडल खनेर गाडेका छौँ । पलास्टिक जन्य फोहरलाई जलाएर नष्ट गरेका छौं । सिसा र धातुजन्य नकुहिने फोहर बोकेर मुक्तिनाथ ल्याएर व्यवस्थापन गरिएको छ ।’

करिब २५ देखि ३० बोरा फोहर व्यवस्थापन गरिएको प्रवक्ता गुरुङले बताए । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङ, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीलगायत ४५ जना जनप्रतिनिधि, सुरक्षा अधिकारी, सुरक्षाकर्मी र स्थानीयवासीको टोलीले सरसफाइका लागि मङ्गलबार थोराङ पुगेर आज फर्किएको हो ।

 सरसफाइ टोलीले पदयात्री र पथप्रर्दशकसँग फोहरको सुरक्षित व्यवस्थापनका लागि सचेतनामूलक कार्यक्रम गरेको थियो । अन्नपूर्ण संरक्षण आयोजनाले थोराङमा बनाएको फोहर राख्ने घर भरिएको छ । गण्डकी प्रदेशको लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला समेटिएको अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेकाले थोराङलाई साहासिक गन्तव्य मानिन्छ ।

मनमोहक हिमशृङ्खला, विविधतायुक्त भूगोल, संस्कृति, रहनहसन, धार्मिक तथा वस्तुकला अवलोकन गर्न पाउनु थोराङपासको विशेषता हुन् । आर्थिक वर्ष २०८०/८१ मा १३ हजार नौ सय १० जना विदेशी पर्यटकले थोराङ्ला पास गरेर मनाङ हुँदै मुस्ताङ आएका थिए । चालु आवको साउनदेखि असोज तेस्रो हप्तासम्म थोराङ्ला पार गरेर मुस्ताङ आउने विदेशी पर्यटकको संख्या दुई हजारभन्दा बढी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७