लुम्बिनीमा थपिए तीन मन्त्री


२०८१ कार्तिक ७ बुधबार ०४:१४ बजे

बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले आज (बुधबार) कांग्रेसका दुई र जसपाका एक मन्त्री थपेका हुन् । तेस्रो पटक मन्त्रिपरिषद विस्तार भए पनि मन्त्रिपरिषदले अझै पूर्णता पाएको छैन । मुख्यमन्त्री आचार्यले बर्दियाबाट निर्वाचित कांग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवारलाई वन तथा वातावरणमन्त्री बनाएका छन् ।

त्यस्तै अशोक राई नेतृत्वको जसपाबाट रूपन्देहीका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाएका छन् । सरकारमा सहभागी हुने लोसपा र नागरिक उन्मुक्तिमध्येबाट एक जना मन्त्री बन्ने भए पनि कुन पार्टीबाट पहिला भन्ने टुंगो नलाग्दा मन्त्रिपरिषद अझै अधुरो छ ।

लुम्बिनीका सत्तापक्षीय दलले नागरिक उन्मुक्तिलाई पहिलो चरणमै मन्त्री बनाउने प्रयासमा भए पनि केन्द्रबाट लोसपालाई बनाउने दबाब बढेपछि तत्कालका लागि एक मन्त्रालय खाली नै राखिएको छ । लुम्बिनी प्रदेशका १२ मन्त्रालयमध्ये युवा तथा खेलकुद मन्त्रालय अझै खाली छ । मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर र नयाँ मन्त्रीको सिफारिस मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेका छन् । प्रदेश प्रमुखको कार्यालयले बिहीबार बिहान ८ बजे शपथ ग्रहणका लागि तयारी गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

लुम्बिनीका १२ मन्त्रालयमध्ये एमालेले मुख्यमन्त्रीसहित ५, कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित ५ र सरकारलाई समर्थन गरेका ४ साना दलमध्येबाट पहिलो चरणमा २ दललाई सरकारमा सहभागी गराउने सहमति भएको थियो । साना ४ दलमध्ये एमालेले पहिलो चरणमा जसपालाई मन्त्री दिएर जनमतलाई दोस्रो चरणमा दिने भएको छ । कांग्रेसले लोसपा र नागरिक उन्मुक्तिमध्ये कसलाई पहिला दिने भन्ने टुंगो लगाउन सकेको छैन ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७