रास्वपाले उपनिर्वाचन परिचालन गर्न यी सात नेतालाई दियो जिम्मेवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह उपनिर्वाचनका लागि सात नेतालाई प्रदेशगत जिम्मेवारी दिएको छ । केन्द्रीय निर्वाचन संयोजक समितिको आज (बिहीबार) बसेको बैठकले सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको हो ।
केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य गणेश पराजुलीका अनुसार प्रदेशगत जिम्मेवारी विभाजन गरिएको हो । जसअनुसार कोशी प्रदेशको निर्वाचन परिचालनको जिम्मेवारी प्रतिनिधिसभामा पार्टी सचेतक निशा डाँगीलाई तोकिएको छ ।
मधेस प्रदेशमा सांसद डा. चन्दा कार्की, वाग्मतीमा सांसद शिशिर खनाललाई स्थानीय तह उपनिर्वानको जिम्मेवारी तोकिएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा केन्द्रीय सदस्य कुसुम महर्जन, कर्णालीमा कोषाध्यक्ष लिमा अधिकारी र सुदूरपश्चिममा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।
सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति रवि लामिछाने पक्राउपछि कास्कीको पोखरा हिरासतमा छन् । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेको पक्राउपछि रास्वपाले पोखरा र काठमाडौंमा विरोधका कार्यक्रमहरु गर्दै आइरहेका छ । लामिछानेको रिहाइका लागि आन्दोलनसँगै रास्वपाले आउँदो मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको तयारी पनि अगाडि बढाइरहेको छ ।