निर्वाचन परिणाम स्वीकार्छु, भड्किलो दुस्प्रचार कहिले स्वीकार्ने छैन : कमला ह्यारिस


१९:०१ बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जितपछि राष्ट्रपतिको प्रतिस्पर्धामा पराजित उपराष्ट्रपति कमला ह्यारिसले शान्तिपूर्ण सत्ता हस्तान्तरणमा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरेकी छन् । पराजयपछि भावुक बन्दै उपराष्ट्रपति ह्यारिसले वासिङ्टनमा एक सम्बोधनमा आँशु झार्दै आफ्ना समर्थकलाई ‘निराश नहुन’ र आफ्नो हारपछि पनि ‘लडिरहन’ आग्रह गरेकी छन् । 

रिपब्लिकन नेता ट्रम्पले चार वर्षअघि जो बाइडनविरुद्धको हार स्वीकार्न इन्कार गरेपछि अमेरिकाको राजधानी वासिङ्टनमा उनका समर्थकहरूले गरेको हिंसात्मक आक्रमण भएको स्मरण गर्दै उनले सत्ताको शान्तिपूर्ण हस्तान्तरण सुनिश्चित गर्ने प्रतिज्ञा पनि गरेकी छन् । हावर्ड युनिभर्सिटीमा आफ्नो छोटो तर सशक्त सम्बोधनमा ह्यारिसले भनिन्, ‘म यो निर्वाचन परिणामलाई स्वीकार गर्छु तर निर्वाचन क्रममा अभियानलाई प्रभावित पार्न गरिएको भड्किलो ‘दुस्प्रचार’ लाई कहिल्यै स्वीकार गर्ने छैन ।’

‘मलाई थाहा छ, धेरै अमेरिकीहरूले हामी अँध्यारो समयमा प्रवेश गर्दैछौँ जस्तो महसुस गरेका छन्’, ट्रम्पको आश्चर्यजनक भारी विजयपछि पहिलो सार्वजनिक टिप्पणी गर्दै उनले भनिन् ।  उनले ट्रम्पको बिजयलाई सङ्केत गर्दै अगाडि भनिन्, ‘हामी सबैको फाइदाका लागि त्यसो हुनु हुँदैनथ्यो ।’ अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने असफल प्रयासका क्रममा ट्रम्पलाई लोकतन्त्रका लागि खतरा को संज्ञा दिएकी ह्यारिसले ट्रम्पलाई बधाई दिन फोन गरेको एक सहयोगीले बताएका छन् ।

ह्वाइट हाउसमा आफ्नो ऐतिहासिक पुनरागमन ७८ वर्षीय ट्रम्पले फौजदारी अभियोग, पदमा रहँदा दुई पटक महाभियोग र आफ्ना पूर्व चिफ अफ स्टाफको चेतावनीलाई गलत पुष्टि गर्दै पहिलेको तुलनामा ठूलो मतान्तरले जित हासिल गरेका हुन् । एक्जिट पोलले मतदाताको मुख्य चासो कोभिड महामारीका कारण बाइडेनको नेतृत्वमा खस्किएको अमेरिकी अर्थतन्त्र र बढेको मुद्रास्फीति नै अमेरिकी निर्वाचनको हार वा जीतको कारक हुने देखाएको थियो। 

ह्यारिसले आफूलाई महिलाहरूको समर्थन वृद्धि हुने आशा गरेकी थिइन् तर सीएनएनको एक्जिट पोलले उनलाई केवल आठ अङ्कको जनसांख्यिकीय अग्रता दिएको थियो । यो बाइडनले चार वर्षअघि प्राप्त गरेको भन्दा लगभग आधा हो । आफ्नो उमेरको चिन्ताका कारण गत जुलाईमा चुनावी दौडबाट बाहिरिएका ८१ वर्षीय बाइडेनले ट्रम्पलाई ह्वाइट हाउसमा आगामी छलफलका लागि निमन्त्रणा गरेको अधिकारीहरूले बताएका छन् ।

नव निर्वाचित राष्ट्रपतिका प्रवक्ता स्टिभन चेउङले भने, ‘ट्रम्पले निमन्त्रणालाई स्वीकार्नु भएको छ र चाँडै हुने बैठकबारे आशावादी भएको बताउनु भएको छ ।’ राष्ट्रपति बाइडेनले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सम्बोधनमा उनले पार्टीमा आफ्ना निकट सहयोगी तथा उपराष्ट्रपति ह्यारिसको ‘साहस’ र ‘निष्ठा’ को सम्मान गर्दै चुनाबी अभियानका लागि धन्यवाद पनि ज्ञापन गर्ने बताइएको छ । 

ट्रम्पको जीतसँगै उनले आर्थिक वृद्धिलाई गति दिन आक्रामक रूपमा अघि बढ्ने अपेक्षाका साथ वाल स्ट्रिट र डलर दुवैको मूल्यमा वृद्धि भएको छ । जनवरी २० मा राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्दा राष्ट्रपति पदको सपथ लिने सबैभन्दा वृद्ध व्यक्ति हुने ट्रम्पले फ्लोरिडामा बुधबार बिहान एक भाषणमा ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने आफ्नो नारा पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७