सात बुँदे सहमतिका आधारमा बनेको गठबन्धन पुरै अवधि कायम रहन्छ : महासचिव पोखरेल

गण्डकी । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टी र जनताबीचको सम्बन्धलाई कसिलो बनाउन पार्टीले ‘जरा अभियान’ सञ्चालन गरेको बताएका छन् । एमाले कास्कीद्वारा आज पोखरामा आयोजित वडा केन्द्रित पार्टी निर्माण अभियान अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले अभियानको भावना र मर्मलाई सार्थक बनाउन जनताको घरघरमा पुग्न कार्यकर्तालाई निर्देशन दिए ।
जनताको बहुदलीय जनवाद विचार र नेतृत्वमा कुनै पनि विवाद नरहेको बताउँदै उनले समृद्ध नेपाल, सुखी नेपालीको संकल्प पूरा गर्न कार्यकर्ता संगठित भएर लाग्नु पर्नेमा जोड दिए । संगठित शक्तिले मात्र समाज परिवर्तन गर्न सक्दछ भन्दै उनले पार्टीको संगठानात्मक शक्तिलाई बलियो बनाउन विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताए । पार्टीले लिएका अभियान पूरा गर्न निर्वाचनमा पहिलो पार्टी बनाउनेतर्फ जुटन जनप्रतिनिधि र कार्यकर्तालाई उनको आग्रह थियो।
मुलुकको अस्थिर राजनीतिक अवस्थाका कारण जनतामा बढेको नैराश्यता हटाउन एमाले र कांग्रेसको गठबन्धन सरकार बनेको बताउँदै उनले सात बुँदे सहमतिका आधारमा बनेको यो गठबन्धन पुरै अवधि कायम रहने बताए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मुलुकको नेतृत्व गर्ने सशक्त पार्टीका रूपमा स्थापित गर्न लाग्नुपर्ने आवश्यकता औंल्याए ।
देशको आवश्यकतालाई दृष्टिगत गर्दै प्रमुख पार्टीहरू सम्मिलित वर्तमान सरकार बनेको बताउँदै उनले सरकार गठन भएपछि अस्थिरताको अन्त्यसँगै सुशासन र समृद्धिको जनतामा आशा जगाएको बताए । नेपाल सरकारका प्रवक्ता समेत रहेका गुरूङले जनचाहनाअनुसार सरकार अघि बढिरहेको बताउँदै स्थिर सरकारको कारण छिमेकी मुलुक भारत र चीनको विकासमा तीव्रता आएको बताए ।
पार्टी सचिव पद्मा अर्यालयले पार्टी भित्रको अवसरवाद र संगठनात्मक अराजकताको अन्त्यका लागि कार्यकर्ता संगठित हुनुपर्ने बताइन् । नमिलेका मनलाई मिलाउन पार्टीभित्र छलफल गरी एकता कायम गर्नुपर्नेमा उनको जोड थियो । एमाले स्थायी कमिटी सदस्य एवं निवर्तमान गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पार्टी र सरकारले गरेका राम्रा काम जनता समक्ष पुर्याउन कार्यकर्तालाई आग्रह गरे ।
एमाले केन्द्रीय सदस्य एवम् कास्की ईन्चार्ज कृष्ण थापाले पार्टी सुदृढीकरणका लागि टोलटोलमा पुगेर विकास निर्माणसहित जनभावना बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । जिल्ला कमिटी कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भेषराज बराल र सचिव दर्शन लामाले पार्टीको वर्तमान अवस्था र अभियान सञ्चालनका सम्बन्ध प्रकाश पारेका थिए ।