आन्तरिक व्यवस्थापन हुन नसक्दा कांग्रेस कमजोर देखियो : प्रकाशमान सिंह


२०८१ फाल्गुण १० शनिबार २३:०६ बजे
फाइल फोटो

जनकपुर । सत्ता साझेदार नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टीको विधान र नेपालको संविधानमा भएको प्रावधानअनुसार सबैलाई मिलाएर गरिने बताएका छन् । शनिबार नेपाली कांग्रेस धनुषाले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले महाधिवेशनबारे यस्तो धारणा राखेका हुन ।

उनले कांग्रेस राजनीतिक पार्टी भएकाले पार्टीभित्र सबैको समेटेर अघि बढ्नु पर्नेमा जोड दिए । उनले भने, ‘विधि र नियमअनुसार परिस्थिति हेरेर पार्टीको महाधिवेशन हुने हो । बहुदलीय व्यवस्था पुनःस्थापन भएदेखि नै ४ वर्षमा कहिल्यै महाधिशेन भएकै छैन । कांग्रेस राजनीतिक पार्टी हो । पार्टीको विधान, देशको संविधानको प्रावधानअनुसार सबैलाई मिलाएर महाधिवेशन हुने हो ।’

उनले कांग्रेसमा आन्तरिक व्यवस्थापन हुन नसक्दा बलियो भएर पनि पार्टी कमजोर जस्तो देखिएको बताए । उनले भने, ‘कांग्रेस बलियो छ । आन्तरिक व्यवस्थापन गर्न नसक्दा हामी कमजोर भइरहेका छौं, समस्या पत्ता लगाइसकेपछि समाधान कसले गर्छ ? हामीले गर्ने हो । पार्टीलाई व्यवस्थित गर्ने, सबैलाई स्थान दिनेगरी पार्टी संगठनलाई अघि बढाऊँ।’

कांग्रेस पार्टीलाई केन्द्रमा राखेर सोचे पार्टीभित्र बृहत्तर एकता कायम हुने भन्दै अहिले कांग्रेसलाई साइडलाइनमा राखेर आफ्ना गुट र उपगुटहरूलाई केन्द्रमा राख्ने स्वार्थी प्रवृत्ति देखापरेकोमा भने सिंहले चिन्ता व्यक्त गरे । उनले पार्टीभित्रका मनमुटाव समयमै व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि पार्टीकै नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्ने बताए ।

सिंहले कांग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भएको भन्दै यसलाई सुदृढ र संस्थागत गर्नुपर्नेमा जोड दिए । आम नागरिकलाई अधिकारसम्पन्न बनाउन जनताको चाहनाअनुसार नै अहिलेको सरकारले काम गरिरहेको पनि उनले बताए । राजनीतिक स्थिरताको जगमा विकास र समृद्धिका लागि सरकारले काम गरिरहेको सिंहले प्रष्ट पारे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७