आरती लामासँग रिसाउँदै जब माधव नेपाल मञ्चबाट जुरुक्क उठे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधव नेपाल र केन्द्रीय सदस्य आरती लामाबीच मञ्चमै भनाभन भएको छ । प्रशासनिक प्रशिक्षण केन्द्र, जावलाखेलमा जारी दोस्रो केन्द्रीय कमिटी बैठकमा आफ्नो बोल्ने पालो आउँदा अन्तर पार्टी निर्देशन (अपानि) का आधारमा आफू अध्यक्ष रहेको अनेरास्ववियूको जिम्मेवारीबाट मुक्त गरिएको प्रति आरतीले आक्रोश व्यक्त गरेकी थिइन् ।
उनले भनिन्, ‘मेरो प्रश्न छ, श्रद्धेय अध्यक्ष कमरेड, यो कस्तो विधि हो ?’ आरतीले यसो भन्नासाथ ‘तपाईं चूप लाग्नुस्’ भन्दै अध्यक्ष नेपाल बसिरहेको ठाउँबाट जुरुक्क उठे । उनी उठ्ना साथ आरतीको छेउमै रहेका महासचिव घनश्याम भुसाल नेपालतिर गएर उनलाई थुम्थुम्याउन थाले । तर, माधव आरतीको छेउमै गएर उनको प्रतिकार गर्न तम्सिरहेका थिए ।
भुसालसहित मञ्चमा रहेका अन्य पदाधिकारीले नेपाललाई रोके । नेपालले ‘चूप लाग्नुस्, चूप लाग्नुस्’ भनिरहे । आरतीले भनिरहिन्, ‘मैले बोल्न पाउनु पर्छ ।’ लामाले आफू पार्टी नेतृत्वको निरंकुशताको शिकार भएको र यो बैठकले उपयुक्त निर्णयसहित आफूलाई न्याय दिनुपर्ने कुरा उठाएका थिइन् ।
‘हामीले विधिका कुरा गरेका थियौं, त्यसैका लागि विद्रोह गरेका थियौं’, लामाले भनिन्, ‘आज विधि कहाँ गयो? के यही हो विद्रोहको औचित्य ?’ अध्यक्ष नेपाललाई अन्य पदाधिकारीले थुम्थुम्याउँदा पनि उनी फेरि उठेर प्रतिकार गर्न तम्सिएपछि महासचिव भुसालले लामालाई ईशारा गर्दै मञ्चबाट बाहिरिन आग्रह गरे । लामा चाहिँ ‘मैले बोल्न पाउनै पर्छ’ भन्दै मञ्चबाट बाहिरिएकी थिइन् ।