क्यानभासमा स्वयम्भू !


२०८१ फाल्गुण १० शनिबार ०५:२४ बजे

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाको महत्वपूर्ण क्षेत्र स्वयम्भूलाई केन्द्रीत गरी यहाँ वरपरका दृश्य समेत कैद गर्दै आज कलाकारले क्यान्भासमा रङ भरेका छन् । बीस जनाभन्दा बढी कलाकारले आज दिनभर स्वयम्भूको फेदीमा बसेर क्यानभासमा रङ भर्दै विभिन्न कलाकृति उतारे । यी कलाकर्मीकाले  स्वयम्भूनाथ र त्यस वरपर बनाइएका आकर्षक संरचना तथा उपत्यका आसपासका दृश्य एउटै क्यान्भासमा अटाएका थिए ।

‘आहा ! कति राम्रो स्वयम्भूनाथ’, सहभागीमध्येका ईश्वर शर्माले भने, ‘हेर न ऊ त्यो माथिको स्वयम्भू दुरुस्तै बनेको छ ।’ यहाँ उपस्थित भएका कला पारखी तथा दर्शकहरूले क्यान्भास र आर्ट पेपर हेर्दै आहा ! कति राम्रो स्वयम्भू भन्दै प्रशंसा गरेका थिए । यो अवसर आजदेखि सुरु स्वयम्भू महोत्सवले जुराएको हो । महोत्सव व्यवस्थापन समितिका सदस्य तथा उक्त कला कार्यशाला संयोजन गरेका कलाकार दिवेश प्रधानले अग्रज र नवकलाकार गरेर २० जनाभन्दा बढी चित्रकार भेला भई आज दिनभर यहाँ कला सिर्जना गरिएको बताए । कला सिर्जनाको आजै प्रदर्शनी समेत गरिएको छ । 

काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो स्वयम्भू । यसलाई महाचैत्य पनि भनिन्छ । यही चैत्यलाई मुख्य विषय बनाएर कलाकारले कुची चलाएका थिए । जलरङ, एक्रेलिक, तेल रङलगायत विभिन्न विधामा चित्रकारले बौद्ध स्तूप बनाएका थिए । यहाँ उपत्यकामा पानी भरिएका बेला विपस्वी बुद्ध आएर तीनपल्ट वरिपरिको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसी तपस्या गरेको किंवदन्ती छ । 

किंवदन्तीअनुसार वैैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्की ‘मन्त्र गरी दहमा रोपेका’ थिए । अर्को सालको वैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको र जसमा पञ्चरश्मिसहित स्वयम्भू महाचैत्यको उत्पत्ति भएको भन्ने गरिन्छ। संस्कृतबाट स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ । काठमाडौँ उपत्यकाको स्थापना र नेपालको इतिहासमा पनि यसको ठूलो भूमिका रहेको जानकारहरू बताउँछन् ।

भगवान् मञ्जुश्रीले पनि काठमाडौँको स्थापना गर्नुअघि यही भूमिमा बसेर तपस्या गरेको भन्ने गरिन्छ ।  नेवारीबाट स्येँको अर्थ स्वयं, गुँको अर्थ वनबाट स्येँगु र यसै शब्दलाई पछि स्वयम्भू भनिआएको बताइन्छ । यसरी धार्मिक, सांस्कृतिक र पुरातात्विक हिसाबले पनि महत्वपूर्ण मानिने स्वयम्भूमा स्वदेशी तथा विदेशीहरू घुम्न औधी मन पराउँछन् । त्यही मेसोमा आज स्वदेशीसहित विदेश पर्यटकले कला सिर्जनाबाट थप मनोरञ्जन र जानकारी लिन पाएँ । आज यहाँ कलाकारका सिर्जना देखेर आगन्तुकहरू थप उत्साहित भएका थिए । अर्का कलाकार उत्तम डङ्गोलले कलाको खानी काठमाडौँ त्यसमाथि स्वयम्भू भनेपछि आफैमा महत्वको विषय भएको बताए । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७