नेपाल फर्कन विमानस्थल जाँदै गर्दा मध्यराति यसरी परे उपरथी ढकाल हिज्बुल्लाहको आक्रमणमा

शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ


२०८१ फाल्गुण ३ शनिबार ०३:२६ बजे

लेबनान । लेबनानी अधिकारीहरूले शनिबार संयुक्त राष्ट्रसंघको काफिलेमा आक्रमण गर्ने २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ । आक्रमणमा बलको निवर्तमान उपकमाण्डरसहित दुई शान्ति सेना घाइते भए । हाल युद्धविराम भए पनि इजरायलविरुद्ध लड्दै आएको लेबननको हेज्बुल्लाह समूहको आक्रमणमा परी नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् । 

शनिबार दिउँसो नेपाली सेनाले जारी गरेको विज्ञप्तीमा ‘लेबननमा शान्ति स्थापनार्थ खटिएको संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक युनिफिलका डेपुटी फोर्स कमाण्डर उपरथी (मेजर जनरल) चोकबहादुर ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारीले रोकी तोडफोड गर्दा उपरथी ढकाल घाइते भएको’ उल्लेख थियो । ‘घटनापश्चात उहाँलाई तत्कालै उद्धार गरी बेरुतस्थित युएन लेबल–३ हस्पिटल पुर्याइएको थियो,’ सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालले उहाँ हाल खतरामुक्त रहेको जनाएको छ ।’

संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत युनिफिल नेपाली सेना सहभागी सबैभन्दा पुरानो मिसन हो। नेपाली सेनाका प्रवक्ता सहायकरथी गौरव कुमार केसीका अनुसार, उपरथी ढकाल सो मिसनमा दुई वर्षअघि डेपुटी कमाण्डरको रुपमा जिम्मेवारी सम्हाल्न गएका थिए ।  ‘उहाँ दुई वर्षे कार्यकाल सम्हालेर स्वदेश फर्कंदै हुनुहुन्थ्यो, त्यसक्रममा उहाँ सवार कन्भोय (गाडीको लस्कर) माथि आक्रमणकारीहरुले आक्रमण गरेछन्,’ प्रवक्ता केसीले भने, ‘घर फर्कने बेलामा यस्तो दुखद घटना हुनपुग्यो ।’ 

आक्रमणकारी समूहले गाडीलाई रोकी त्यहाँभित्र सवार रहेका उपरथी ढकाल र सुरक्षामा खटिएका चार जना नेपाली शान्ति सैनिकलाई बाहिर निकालेका थिए। त्यसपछि गाडीमा आगो लगाइयो, उनीहरुले उपरथी ढकालमाथि प्रहारसमेत गरे। आक्रमणका कारण ढकालको टाउकोमा चोट लागेको छ । संयुक्त राष्ट्र र लेबनानी अधिकारीहरूले आक्रमणको निन्दा गरे । ‘लेबनानी सेनाको खुफिया एजेन्सीले २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरेको छ,’ आन्तरिक मन्त्री अहमद अल–हज्जरले शनिबार एक आपतकालीन सुरक्षा बैठकपछि पत्रकारहरूलाई बताए ।

‘यी बन्दीहरूले आक्रमण गरेका हुन् भन्ने होइन, तर यसको जिम्मेवार को हो भन्ने अनुसन्धानले देखाउँछ,’ उनले थपे । आक्रमणमा आफ्नो मिसन सकेर घर फर्किदै गरेका नेपाली नागरिक तथा निवर्तमान फोर्स कमाण्डर चोकबहादुर ढकाल घाइते भए । साथै, लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) ले आफ्नो एउटा गाडीमा आगजनी गरेपछि छानबिन गर्न आग्रह गरेको छ ।

युनिफिलका उपप्रवक्ता कान्डिस अर्डिएलले एएफपीलाई दोस्रो नेपाली शान्ति सैनिक पनि घाइते भएको र अस्पतालमा भर्ना गरिएको बताए । प्रधानमन्त्री नवाफ सलामले आक्रमणको कडा निन्दा गरे । लेबनानका लागि संयुक्त राष्ट्रसंघका विशेष संयोजक जेनिन हेनिस–प्लास्चार्ट र युनिफिल कमाण्डर जनरल एरोल्डो लाजारोसँगको वार्तामा उनले दोषीहरूलाई पक्राउ गर्ने वाचा गरे । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७