कांग्रेस–एमालेले मात्रै संविधान संशोधन गर्दैनन् : गृहमन्त्री लेखक


२०८१ फाल्गुण ८ बिहीबार ००:४६ बजे
फाइल फोटो

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा व्यावसायिक वातावरण निर्माण गर्दै सुशासन कायम गर्नको लागि सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन् । कांग्रेस र एमालेको सत्ता गठबन्धनले मात्रै संविधान संशोधन नगर्ने पनि उनको भनाइ छ ।

कांग्रेस निकट नेपाल वित्तीय संस्थाले भक्तपुरमा बिहीबार आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लेखकले संविधानका सबल र दुर्बल पक्षबारे समीक्षा गर्नका लागि सबै राजनीतिक दलको सहमति आवश्यक रहेको बताए । संविधान संशोधन कांग्रेस र एमालेले मात्र गर्ने नभई सबै राजनीतिक दलबीच सहमति खोजिने बताए। संविधान संशोधनका लागि कार्यदल गठन गर्न सत्तारुढ दलबीच सहमति समेत भइसकेको बताए । सबैसँग संवाद र सहकार्य गरेर संविधान संशोधन गरिने उनको भनाइ थियो ।

‘संविधान लागू भएको १० वर्ष भएको छ । यस १० वर्षको संविधानको अभ्यासमा यसका सबल पक्ष र दुर्लभ पक्ष के–के रहे ? त्यसको पहिचान गर्ने र संविधान परिमार्जन गर्ने र त्यसका लागि सबै राजनीतिक दलबीच सहमति गरेर संविधान संशोधन गर्ने हाम्रो लक्ष्य छ,’ लेखकले भने, ’त्यसका लागि कांग्रेस र एमालेले कार्यदल बनाउने कुरामा सहमति भएको छ । केही दिनमा कार्यदल बनेर कार्य प्रारम्भ हुन्छ । कांग्रेस र एमालेलेमात्र संविधान संशोधन गर्ने होइन । हामी प्रारम्भ गर्छौं र अन्य सबै राजनीतिक दललाई यसमा संवादमार्फत सहमतिमा ल्याउँछौं ।’

त्यस्तै, हालै सरकारले ल्याएका अध्यादेशले सेवा प्रवाहलाई दुरुस्त बनाउन भूमिका खेल्ने लेखकको भनाइ छ । अध्यादेशको विषयवस्तुमा कसैले पनि फरक मत राखेको नभए पनि प्रक्रियाकै कारण अहिलेसम्म संसद्बाट स्वीकृत गर्न नसकिएको बताए । ‘आइटी क्षेत्रले अहिलेको नयाँ पुस्तालाई आकर्षित गरिरहेको छ । नयाँ पुस्तालाई यहाँ नै सम्भावना देखाइरहेको छ । त्यो सम्भावनालाई झन बढाउनका लागि हामीले भर्खरै अध्यादेश ल्याएका छौं,’ उनले भने, ‘व्यवसायिक वातावरण अनुकूल बनाउन, सुशासन कायम गर्न तथा सेवा प्रवाहलाई दुरुस्त बनाउनका लागि हामीले अध्यादेश ल्याएका छौं । अध्यादेशको कन्टेन्टमा कसैले पनि फरक मत राखेको जस्तो मैले देख्दिनँ । प्रक्रियाकै कुरा गरेर हामीले त्यसलाई अहिलेसम्म स्वीकृत गर्न सकेका छैनौं । हामी त्यसलाई चाँडै स्वीकृत गराउँछौं ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७