ट्राफिक नियम उल्लंघन गरेको आरोपमा १५० सवारी साधन ‘होल्ड’

होलीमा नियम मिच्नेलाई दिनभर सडकमै रोकिने


२०८१ फाल्गुण २९ बिहीबार १६:३५ बजे

काठमाडौं । काठमाडौँ उपत्यकामा होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ । आज बिहानैदेखि उपत्यकाको तीन वटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्र पारिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

उनका अनुसार यस पटक ट्राफिक कारबाही मात्रै गरिँदैन, उनीहरुलाई होली मनाउन नपाउने गरी दिनभर सडकमा रोकिने छ । उनले भने, ‘हामीले नियम उल्लङ्घन गर्ने जो कोहीलाई ट्राफिक जाँचस्थलमा कानुनी कारबाही त गरिन्छ नै त्यसका अलावा सोही स्थानमा दिनभर  गाडी रोकेर राखिन्छ ।’ 

त्यसका लागि उपत्यकामा १२० भन्दाबढी जाँच स्थल तोकेर प्रहरी परिचालन गरिएको छ । ट्राफिक प्रहरी र जनपथ प्रहरीले संयुक्त रूपमा जाँच अभियान चलाएको छ । हरेक ठाउँमा संयुक्त परिचालन भएको र मादक पदार्थ सेवन तथा लागु पदार्थ सेवनका लागि आवश्यक उपकरण तथा टोली संयुक्त रूपमा खटाइएको पनि उनले बताए । प्रहरीले आफ्ना नजिकका र चिनेजानेकासँग मात्रै होली खेल्न अनुरोध गरेको छ । त्यसरी खेल्दा आपसी भाइचारा वृद्धि हुने गरी र सौहार्दपूर्ण तथा संस्कृतिअनुसार होली मनाउन अनुरोध गरेको छ ।

त्यसैगरी काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले पनि मर्यादित भएर होली खेल्न अनुरोध गर्दै उच्छृङ्खल रूपमा होली खेले कानुनी कारबाही गर्ने जनाएको छ । आज काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लामा होली खेलिन्छ भने भोलि तराइमा होली खेल्ने चलन छ । कतिपय जिल्लामा दुई दिन नै होली खेलिन्छ । नियमविपरीत सवारी चलाउने हरुलाई नियमन गर्न काठमाडौँ, भक्तपुर ललितपुरका ८३ ठाउँमा चेक प्वाइन्ट  सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर लागु गरेको छ । ट्राफिक प्रहरीले १५० वटा सवारी साधन होल्ड गरेको छ । नियम विपरीत चलाएका र  कागजात नभएका १२९ वटा दुईपाङ्ग्रे सवारी साधान होल्ड गरेर राखिएको एसपी गिरीले जानकारी दिए । उनले भने, ‘तीमध्ये २५ जना चालकले मादक पदार्थ सेवन गरेर चलाएको भेटिएको छ ।’

होल्ड गरिएका २१ वटा चारपाङग्रे मध्ये ३ जनाले मादक पदार्थ सेवन गरेको फेला परेको छ । होल्ड गरिएको सवारी साधनलाई बिहीबार साँझ मात्र सवारी धनीको जिम्मा लगाइने एसपी गिरीले जानकारी दिए ।  ट्राफिक प्रहरीले ओभरलोड, सडक बत्ती उल्लङ्घन र लेन क्रस गरेको कसुरमा ५ सय ६३ सवारी साधनलाई कारबाही गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७