नेपाल एयरलाइन्समा भाडाका जहाज थप्ने तयारी भइरहेको छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुचारु गर्न लिजमा जहाज थप्ने अन्तिम तयारी भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सोमबारको बैठकमा मन्त्री पाण्डेले नागरिक उडड्यनको क्षेत्रमा कुनैपनि बेला नतिजा आउने गरी तदारुकताका साथ काम गरिरहेको दाबी गरे । उडड्यनको क्षेत्रलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न जहाज थप्नुको विकल्प नरहेको उनको भनाइ थियो ।
लिजमा जहाज लिएर उडाउने प्रक्रिया अन्तिम चरणमा रहेको मन्त्री पाणडेको भनाइ छ । उड्डयनको क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नेगरी सरकार हवाई नीति ल्याउने तर्खरमा रहेको समेत उनले बताए । विदेशी र स्वदेशी एयरलाइन्सहरूबीच टिकटमा देखिएको असमानता हटाउनको लागि समेत आवश्यक अध्ययन भइरहेको उनले जानकारी दिए ।
‘नागरिक उडड्यनको क्षेत्रमा नेपाल एयरलाइन्सलाई सुचारु बनाउने सन्दर्भमा हामी गहन छलफलमा छौं । कुनै पनि बेला नतिजा आउने गरी हामी छलफलको तदारुकतामा छौं । अब प्लेन नथपिकन कुनै उपाय नै छैन । १० वटा वाइडबडी र १० वटा न्यारोबडी भइदिएमात्र सञ्चालन गर्न सजिलो हुन्छ,’ मन्त्री पाण्डेले भने, ‘सबैतिरबाट सिधा उडानको लागि प्रस्ताव आएका छन् । जुनसुकै देशले पनि ध्वजा वाहक नै चढ्न खोज्ने रहेछन् । नेपालीले त खोज्ने नै भयो, अरुले पनि सम्बन्धित देशमा जाँदा त्यो देशको ध्वजावाहक भयो भने ढुक्क अनुमति गर्दो रहेछ ।’
त्यस्तै, इन्डोनेसिया र फ्रान्ससँग हवाई सम्झौता अघि बढाइएको पनि मन्त्री पाण्डेको भनाइ थियो । यी दुई मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाएको उनले बताएका छन् । मन्त्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई निकायमा विभाजन गर्ने सम्बन्धी विधेयक चैत १४ गते प्रतिनिधिसभामा प्रस्तुत हुने जानकारी दिए । मन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तराष्ट्र्रिय विमानस्थलमा नियमित उडान सञ्चालनका सम्बन्धनमा मन्त्रिपरिषद्बाट कार्ययोजना स्वीकृत गराई लागू गरिएको जानकारी दिए ।