किन कुटिए विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख श्रेष्ठ ?

चितवन । नेपाल विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट भएको छ । मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा कार्यालयको डिजिटल बोर्डमा डिस्प्ले भएपछि एक समूहले कार्यकक्षमै प्रवेश गरी कुटपिट गरेका हुन् । डिजिटल बोर्डमा केपी चोर देश छोड लेखिएको थियो।
विद्युत् ग्राहकका लागि सूचना राख्ने गरिएको कार्यालयको डिजिटल बोर्डमा कसले, कसरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा लेख्यो भन्ने विषयमा छलफल गरिरहेका बेला कार्यालय प्रमुख श्रेष्ठलाई कुटपिट भएको बताइएको छ । करिब ३०-४० जनाको समूहले कार्यालयमा तोडफोड गर्दै कार्यालय प्रमुख श्रेष्ठलाई हातपात गरेको आरोप छ ।
त्यसपछि प्रमुख जिल्ला अधिकारीसहितको टोलीले भिड तितरबितर गरेको बुझिएको छ । आक्रमणबाट कार्यालयको कम्प्युटर, गमला, ग्लास, शौचालयका ढोकालगायत सामान तोडफोड भएका छन् । घटनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइएको र जिल्ला प्रहरी कार्यालयसँग सुरक्षा मागिएको छ। प्रधानमन्त्रीविरूद्ध लेखेको भन्दै ती व्यक्तिहरूले कुटपिट गरेपछि आफू कार्यलय जान नसकेको उनले बताएका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले डिजिटल बोर्डमा कसरी प्रधानमन्त्रीविरूद्ध नारा डिस्प्ले भयो भन्ने विषयमा २४ घण्टाभित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् । मंगलबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गर्ने निर्णय गरेको थियो । वितरण केन्द्र प्रमुख श्रेष्ठले कसरी प्रधानमन्त्रीको विषयमा डिस्प्ले भयो भन्ने थाहा नभएको बताए।
‘सिस्टम ह्याकिङ भएको हुनसक्छ, थाहा पाएपछि हटाइहालेका थियौं तर बुधबार हाम्रै कर्मचारीले फेसबुकमा फोटो पोष्ट गरेपछि अवस्था जटिल बन्यो,’ उनले भने । वितरण केन्द्रले विज्ञप्ति नै जारी गरेर सिस्टम ह्याक भएको दाबी पनि गरेको छ । श्रेष्ठले कार्यालयमा प्रवेश गरेर हातपात र तोडफोड गर्नेलाई कारबाही गर्न माग गरेर प्रहरी र प्रशासन कार्यालयमा निवेदन दिएको बताए । तर जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी राजन खनालले हातपात भएको जानकारी नपाएको बताए ।
नेकपा (एमाले) का भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुले विज्ञप्ति जारी गरेर प्राधिकरणले राज्यविरूद्ध र अनुशासनहिन काम गरेको भन्दै निन्दा गरेका छन् । युवा संघ चितवनका अध्यक्ष झलक भट्ट, भरतपुर महानगरका अध्यक्ष राम कार्की, अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यले जारी गरेको संयुक्त विज्ञप्तिमा कार्यालय प्रमुखको राजीनामा माग गरेका छन् ।