नेपाल पुलिसले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज (शनिबार) भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । जितका लागि १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि ओपनर कुशल भूर्तेलले ६१ रन बनाए । कुल ७० बलको सामना गरेका उनले सात चौका र तीन छक्का प्रहार गरे ।
यस्तै अमित श्रेष्ठले ३९ र दिलीपनाथले अविजित ३१ रन बनाए । आर्मीका लागि साहब आलमले तीन र नरेन साउदले एक विकेट लिए । त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउदै १५४ रन बनाएको थियो । २५ रनमै ५ विकेट गुमाएको आर्मीका लागि कप्तान विनोद भण्डारी र वसीर अहमदले ७५ रन बढीको साझेदारी गरेका थिए ।
उसका लागि बसीर अहमदले १०४ बलको सामना गर्दै नौ चौका र एक छक्काको सहयोगमा ८६ रन बनाए भने कप्तान विनोद भण्डारीले २९ रनको योगदान दिए । त्यसबाहेक विवेक यादवले ११ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । आर्मीलाई सस्तोमै समेट्ने क्रममा बलिङतर्फ नेपाल पुलिसका करण केसीले ७ ओभरमा एक मेडेनसहित ३० रन खर्चेर तीन विकेट लिए ।
सागर ढकालले आठ ओभरमा २९ रन खर्चेर तीन विकेट लिँदा कप्तान दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशी र गुलशन झाले समान एक-एक विकेट लिए । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत यो पटक ४६ वटा खेल खेलाइएको थियो ।
यी सबै खेल पहिलोपटक काठमाडौँ बाहिर रूपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तीलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रंगशाला र दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय रंगशालामा आयोजना भएको हो । प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोली सहित १० टोली सहभागी थिए ।