‘हिंसात्मक गतिविधि गर्नेलाई माफी दिइन्न’

काभ्रेपलाञ्चोक । नेकपा एमालेका सचिव योगेश भट्टराईले हिंसात्मक गतिविधि गर्नेलाई माफी नदिइने बताएका छन् । उनले हिंसा भड्काउनेलाई कारबाहीको दायरामा ल्याइने बताए ।
अखिल नेपाल किसान महासंघ काभ्रेपलाञ्चोक जिल्ला कमिटीको आज बनेपामा आयोजित सातौँ जिल्ला अधिवेशनमा उनले आन्दोलनका नाममा गरिएका हिंस्रक गतिविधिको निन्दा गर्दै सरकारले दोषीलाई कारबाही गर्ने बताएका हुन् । उनले आन्दोलनाका नाममा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड, लुटपाट र आगजनी गर्ने जोसुकैलाई सरकारले नियन्त्रणमा लिएर कारबाही गर्नुपर्नेमा जोड दिँदै हिंसात्मक गतिविधि गर्ने छुट कसैलाई नभएको बताए ।
एमाले पोलिटब्युरो सदस्य एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले राजतन्त्र फर्कने कोरा कल्पना नगर्न सुझाउँदै देशका प्रमुख राजनीतिक दल र नेपाली जनता संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले यो व्यवस्थालाई सुदृढ बनाउनेतर्फ लाग्न सम्पूर्ण नेपालीलाई आग्रह गरे ।